काठमाडौँ
सिंहदरबार भित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबार भित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबार भित्र करिब सात हजार कर्मचारी छन् ।
उनीहरू मध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए । सरकारले स्वास्थ्य उपचारको बहानामा कर्मचारी काम छाडेर बाहिर जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा तीन साता अघि सिंहदरबार भित्रै हेल्थ डेस्क स्थापना गरेको थियो ।
बिहान ८ बजे खाना खाने, दिउँसो ३ बजे १ गिलास पानी पिउने, अपराह्न ४ः३० मा खाजा खाने, साँझ ७ बजे दुई गिलास पानी खाने र राति ८ः३० देखि ९ बजे भित्र खाना खाने गरेको तालिका अधिकांश कर्मचारीले बताएका थिए । वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताए ।
यसैविच सिंहदरबारका कर्मचारीमा तनाव, ग्याँस्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्ने जस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्याँस्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए । १६ कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनीहरूमा उच्च रक्तचाप र ग्याँस्ट्रिक देखिएको हो । चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्ष माथिका बढी छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया