काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने बताएका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ऊर्जामन्त्री पुनले सो कुरा बताएका हुन् । पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्ने आफ्नो योजना रहेको बताए ।
‘ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने मेरो संकल्प हो,’ मन्त्री पुनले भने, ‘त्यसका लागि हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्नु पर्ने हुन्छ ।’ उनले १० वर्षमा मुलुकलाई १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताउँदै त्यसका लागि आयोजना निर्माणको कामलाई तीव्र रूपमा अघि बढाउने बताए ।
दक्ष जनशक्तिको व्यवस्थापन र रोजगारी सिर्जनाका लागि पनि सरकारले छिट्टै नयाँ योजना ल्याउने मन्त्री पुनले दाबी गरे । माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका पुनले प्रधानमन्त्री केपी शर्मा ओली र देशको राजनीतिक नेतृत्वले देश निर्माणका लागि संकल्प गरेको जानकारी दिँदै त्यसका लागि ऊर्जा मन्त्रालयले सबैभन्दा बढी योगदान पु¥याउने बताए ।
उनले देश विकास र समृद्धिको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै त्यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग गरेर समृद्ध देश बनाउने जानकारी दिए । ‘देशमा लामो समय देखि रहेको संक्रमणकालको अन्त्य भएसँगै हाम्रो समृद्धिको यात्रा सुरु भइसकेको छ, त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सके मात्र त्यसले साँचो अर्थमा राष्ट्र हितमा योगदान पुग्छ,’ उनले भने ।
राजधानीबाट





























प्रतिक्रिया