काठमाडौँ
राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताल लगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो ।
राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुई वटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ । एनसिसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रूपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरूले देखाएका छन् । यस घोटालासँग जोडिएर राष्ट्र बैंकले दुई वटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रस्ट देखाएको छ ।
राष्ट्र बैंकले आन्तरिक विवादका कारण एनसिसी बैंक कमजोर भएको भन्दै माघ ०७० मा हस्तक्षेप गरी आफैँले व्यवस्थापन थालेको थियो । एनसिसीको ठूला सेयर होल्डर निर्मल प्रधान समूह र एनबी समूह बीचको विवादलाई सल्टाउन तथा एक व्यक्ति , समूहको सेयर १० प्रतिशत भन्दा तल झार्ने राष्ट्र बैंकको मुख्य उद्देश्य थियो । त्यसका लागि अन्य बैंकसँग मर्जर गराउने जिम्मेवारी व्यवस्थापन समूहलाई दिइएको थियो । राष्ट्र बैंकको समूहले व्यवस्थापन गरिरहेकै वेलामा एनसिसीमा एपेक्सको मर्जर भएको हो । एनसिसीको मर्जर टुंगिएपछि मात्रै राष्ट्र बैंकको व्यवस्थापन फिर्ता भएको थियो ।
विकास बैंक सुपरीवेक्षण विभागले २८ पुस ०७३ मै तयार भएको एपेक्सको निरीक्षण प्रतिवेदनले त्यहाँ धेरै अनियमितता रहेको र सञ्चालक तथा उच्चपदस्थ कर्मचारीलाई कारबाही गर्नु पर्ने सुझाब दिएको थियो । त्यसपछि डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा २ माघ ०७३ मा बसेको नेपाल राष्ट्र बैंक नीति निर्देशन कार्यान्वयन समितिको बैठकले एपेक्सका तत्कालीन सञ्चालक समिति, व्यवस्थापन र अन्य पदाधिकारीलाई कारबाही गर्ने अख्तियारी गभर्नरलाई प्रदान गर्न राष्ट्र बैंक सञ्चालक समितिमा पेस गर्ने निर्णय गरेको थियो । अनुसन्धान प्रतिवेदन र नीति निर्देशन कार्यान्वयन समितिले कारबाहीको सिफारिस गरेपछि सञ्चालक समितिले कारबाही चलाउने निर्णय गर्नु पर्ने थियो । तर कारबाहीको निर्णय गर्नुको साटो सोको अढाइ महिनापछि राष्ट्र बैंकले एनसिसीसँग मर्ज भएका चार बैंकको कर्जा प्रवाह प्रक्रियाको अनुसन्धान गर्न भनेर फेरि पाँच सदस्यीय निरीक्षण टोली बनायो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया