काठमाडौं
विभिन्न माग राखी २ हप्ता देखि अनशनरत राष्ट्रिय जनता पार्टीका नेता रेशम चौधरीले हिजो आफ्नो अनशन तोडेका छन् । गृहमन्त्री राम बहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाएका हुन् । कैलाली क्षेत्र नं १ बाट निर्वाचित चौधरी आफूलाई संसद सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, आफू माथिको मुद्दा फिर्ता लिनु पर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनु पर्ने लगायत माग राखी अनशन बसेका थिए ।
अनशन तोडाउँदै गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनु पर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताएका थिए । अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत सिंह भण्डारी लगायतका नेताहरु पनि उपस्थित थिए ।
चौधरीको अनशन फिर्ता लिने सम्बन्धमा हिजो नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर लगायत नेताहरुसँग छलफल गरेका थिए । कैलालीको टीकापुरमा वि.सं. ०७२ भदौ ७ गते वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जनाको मृत्यु भएको घटनामा मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका चोधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि गत फागुन १४ गते अदालतमा उपस्थित भएका थिए ।
रासस





























प्रतिक्रिया