अब चालकलाई रातो र सहचालकलाई पंहेलो ज्याकेट

अब चालकलाई रातो र सहचालकलाई पंहेलो ज्याकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् । 

रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको पहिचान झल्कने बताउछन् । 
“पोशाक लगाएसँगै अरु कपडा फोहर नहुने तथा चालक र सहचालकलाई यात्रुले चिन्न सहज हुनेछ,”– उनको भनाइ छ– “चालकका लागि रातो रंगको कपडाको ज्याकेट र सहचालकका लागि हल्का पहेँलो रंगको ज्याकेटको व्यवस्था गरिएको छ । 

सोही मार्गमा चल्ने बा २ ख ३६२४ नम्बर माइक्रोबसका चालक हरि महर्जन भन्छन, “नेपाली भन्दा पनि विदेशी पाहुनालाई चालक र सहचालक छुट्याउन पोशाकले सहज हुन्छ,” यी केबल प्रतिनिधि पात्र मात्र हुन् । आज रत्नापार्कदेखि ललितपुरसम्म चल्ने झण्डै १०० माइक्रोबसका चालक तथा सहचालकलाई पोशाक वितरण गरिएको हो । ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निरत्न नेवा पोशाकको प्रयोगसँगै चालक र सहचालकको व्यवहारमा परिवर्तन आउने बताउछन् । “पोशाक लगाएपछि चालक र सहचालकलाई थप जिम्मेवारी थपिएको छ,”– उनले भने । 

हाल रत्नापार्क भएर ललितपुरका विभिन्न स्थानमा झण्डै २०० माइक्रो बस आवतजावत गर्दै आएका छन् । यो अभियानले यात्रुले चालक तथा सहचालकलाई सजिलै चिन्ने हुने अध्यक्ष नेवाको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं ३ का संयोजक धर्म रिमाल उपत्यकाभित्रका सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रुपमा पोशाक लगाउने निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको बताए ।

“अब रत्नापार्कदेखि उपत्यकाका विभिन्न स्थानमा चल्ने सार्वजनिक बसका चालक तथा सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ,”–उनले भने । शुरुमा काठमाडौँ उपत्यका र त्यसपछि देशभर चल्ने सवारी साधनलाई पोशाकको व्यवस्था गरिने गरी महासंघले काम गरिरहेको छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल रत्नपार्कदेखि ललितपुरसम्मको १४ नं रुटबाट शुरु भएको उक्त अभियान उपत्यकाका सबै रुटमा लैजाने बताउछन् । “आज शुरुवात हो, अब उपत्यकाका सबै रुटमा यो अभियान सञ्चालन हुन्छ,”– उनको भनाइ छ । 

पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रुपमा गाडी चलाउने अभियानको विकास हुने प्रमुख खनाल उल्लेख गर्नुहुन्छ । आजदेखि शुरु भएको उक्त अभियान आ–आफ्नो समितिबाट कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ । यसअघि ट्राफिक व्यवस्थापन सहजताका लागि चालक, सहचालकलाई बाटोमा बसेर शिक्षा दिँदै आएको महाशाखाले यो कामसँगै ट्राफिक व्यवस्थापनमा थप सहजता हुने विश्वास समेत लिएको छ । रासस

Logo