काठमाडौं
बुधबार राती नेपालमा भित्रिएको पश्चिमी वायु र मुलुक भित्रै विकास भएको स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकका अधिकांश भेगको मौमस धुमिएको छ । हल्का र छिटफुट वर्षा समेत भएको छ । भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु–कास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको हो । यस्तो वायुको प्रभाव अझै २⁄३ दिन सम्म दोहोरिँदै मुलुकका धेरै भू–भागमा हल्का र छिटफुट वर्षा समेत हुने मौसमविद्हरूको ठहर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार शुक्रबार र शनिबार मुलुकका धेरै स्थानको मौसम धुमिएर मेघ गर्जन सहित हल्का र छिटफुट वर्षा हुनेछ ।
‘केही बेर मौसम खुले जस्तो देखिए पनि पूर्ण रूपमा खुल्दैन, धेरै ठाउँको मौसम धुमिन्छ, हल्का वर्षा समेत हुने मौसमी गतिविधि विकास भएको छ’, उहाँले भन्नुभयो– ‘आइतबार देखि मात्रै मौसममा सुधार आउनेछ।’ बिहीबार मुलुकको मध्य र पश्चिमी क्षेत्रमा देखिएको मौसमी प्रभाव आज देखि भने मध्यतराई बाहेक मुलुकका अधिकांश भेगमा फैलिने पौडेलले बताउनुभयो ।
पश्चिमी पहाड र तराई, काठमाडौं, पोखरा र आसपासका क्षेत्र सहित मुलुकको पूर्वी भेगका पहाडी भेगमा हल्का र छिटफुट वर्षा हुने महाशाखाका अधिकारी बताउँछन् । अहिले भित्रिएको मौसमी प्रभावले मनसुन पूर्वाद्ध (प्री मनसुन) गतिविधिलाई थप टेवा पुर्याउने भएकाले अपरान्हको समयमा मेघ गर्जन सहित हल्का वर्षा हुने अर्का मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया