सिन्धुपाल्चोक
तीन वर्ष अघिको विनासकारी भूकम्पले चर्काएका ढुंगामाटाका परम्परागत घर अझै यत्रतत्र देख्न सकिन्छ । भूकम्पपीडित न सग्लो, न क्षतिग्रस्त यस्ता संरचना के गर्ने भन्ने चिन्तामा हुन सक्छन् । त्यस्ता संरचना नभत्काइकनै ‘रेट्रोफिट’ (प्रवलीकरण) गरेर भूकम्प प्रतिरोधी संरचनामा बदल्न सकिन्छ । भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा यसको सफल परीक्षण भइरहेको छ । भूकम्पबाट चर्किएका परम्परागत घर रेट्रोफिट गर्दा पीडितलाई फाइदै फाइदा हुन्छ । त्यस्ता संरचना भत्काउँदा लाग्ने खर्च जोगिन्छ । नयाँ संरचना बनाउँदा लाग्ने लामो समय र ठूलो आर्थिक व्ययभारबाट मूक्ति मिल्छ । ऋण थपिँदैन । थोरै खर्चमा रेट्रोफिट गर्न सकिन्छ । यसबाट भूकम्पप्रतिरोधी संरचना तयार हुनुका साथै परम्परागत वास्तुकलाको समेत जगेर्ना हुन्छ ।
सिन्धुपाल्चोकको साँगाचोकका तीन गाउँमा चर्किएका परम्परागत घरको रेट्रोफिट भइरहेको छ । नमूना परियोजनाका रुपमा भूकम्प प्रभावित जिल्ला मध्ये यहाँबाटै पहिलो पटक ढुंगामाटोका घरमा रेट्रोफिटको परीक्षण थालिएको हो । यसले सफलता हासिल गरेपछि अहिले यो प्रविधि काभ्रे, धादिङ, मकवानपुर लगायत अन्य भूकम्प प्रभावित जिल्लामा पनि विस्तार भइरहेको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालको साझेदारीमा साँगाचोकका एक्लेफाँट, गैह्राथोक र पौवाथोक गाउँका ३५ वटा परम्परागत घर रेट्रोफिट भइरहेका हुन् । यस मध्ये १६ घर रेट्रोफिट भइसकेको छ । बाँकी घरको रेट्रोफिट अन्तिम चरणमा पुगेको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरु समेतको संलग्नतामा तयार पारिएको परम्परागत घर रेट्रोफिट ‘डिजाइन’ लाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत स्वीकृति प्रदान गरिसकेको छ । ‘चर्किएका घर रेट्रोफिट गर्दा नयाँ जत्तिकै बलियो बन्छ,’ रेट्रोफिटमै इन्जिनियरिङ गरेका वल्र्डभिजनका इन्जिनियर निकेश महर्जनले भने । नमूना निजी आवास पुनर्निर्माण परियोजना अन्तर्गत भूकम्पले चर्काएका ढुंगामाटाका घरको रेट्रोफिट भइरहेको हो । यो परियोजना हेरिरहेका इन्जिनियर महर्जनका अनुसार पहिला संरचना बनाउँदाका खराबी सुधार्दै त्यसमा भूकम्पप्रतिरोधी सामग्री थपेर रेट्रोफिट गरिन्छ । ‘रेट्रोफिट मर्मत भन्दा फरक छ,’ उनले भने ।
नागरिकबाट





























प्रतिक्रिया