पर्वत
स्थानीय तहको नयाँ व्यवस्था कार्यान्वयन भए देखि नै कुश्मा नगरपालिकाको कार्यालय मासिक ३० हजार रुपैयाँ तिरेर भाडाको घरमा छ । जिल्लाका अरु स्थानीय तह मध्ये सम्पन्न मानिने कुश्माको पाँच वर्ष सम्म कार्यालय भवन बन्न सकेको छैन । नगरपालिकाका ४, ५, ६, ७, ९ र ११ का वडा कार्यालय पनि भाडाका घरमै सञ्चालित छन् । साबिकका केही गाविसले हालका वडाको सेवा पुरानै कार्यालयबाट दिँदै आएको भए पनि नगरका आधाभन्दा बढी वडा कार्यालय भाडाका घरमै सञ्चालित छन् । वडा कार्यालयले मासिक साँढे ७ देखि १० हजार रुपैयाँ सम्म भाडा तिर्छन् ।
०७३ फागुन देखि कार्यान्वयनमा आएको फलेवास नगरपालिका पनि भाडामै छ । स्थानीय मोती सामुदायिक पुस्तकालयको तीनवटा साँघुरा कोठा भाडामा लिएर फलेवास नगरपालिकाको कार्यसम्पादन भइरहेको छ । पैयुँ र मोदी गाउँपालिका पनि भाडाको घरमै छन् । महाशिला, विहादी र जलजलाले साबिकका दुई–तीनकोठे गाविस भवनबाट गाउँपालिका अन्तर्गतका सबै विषयगत कार्यालयको कार्यसम्पादन गर्दै आएका छन् । स्थानीय तह कार्यान्वयनपछि साबिक सदरमुकामबाट हुने ३६ भन्दा बढी विषयगत कार्यालयका कार्यसम्पादन गाउँपालिका र नगरपालिकाबाटै गर्नु पर्ने व्यवस्था छ ।
फलेवास नगरपालिकाका विषयगत आधा दर्जनजति कार्यालयले कृषि र पशु सेवाकेन्द्रको भवनका कोठाबाट कार्यसम्पादन गरिरहेका छन् । कतिपय कार्यालयका कर्मचारीलाई बस्ने कुर्सी समेतको व्यवस्थापन नहुँदा कार्यसम्पादनमा समस्या छ । ‘बस्ने कुर्सी समेत छैन,’ महिला तथा बालबालिका संयोजक तारादेवी सुनुवारले भनिन् ‘व्यवस्थित कार्यालयको कुरा छोडौं ।’ व्यवस्थित कोठाको अभावमा शिक्षा र प्राविधिक लगायतका कार्यालयको कार्यसम्पादनमा पनि समस्या छ । नगरपालिका र विषयगत कार्यालय एकै ठाउँमा नहुँदा सेवाग्राहीलाई नगरपालिकाको काम लिएर जाँदा धेरैतिर डुल्नु पर्दा झन्झट हुने गरेको छ । ‘स्थानीय तह कार्यान्वयनमा आएपछि एकै ठाउँमा काम होला भन्ने थियो,’ रानीपानीका दिलीप पौडेलले भने, ‘अहिले झनै दुःख भएको छ । पहिले एकठाउँबाट हुने काम गर्न अहिले चार–पाँच ठाउँमा पुग्नु पर्छ ।’
नेपाल समाचारपत्रबाट
प्रतिक्रिया