काठमाडौं
यस वर्ष वैदेशिक सहायतामा ठूलो गिरावट आएको छ । वैदेशिक सहायता परिचालनका लागि संघीय संरचना अनुसारको नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो वर्षको तुलनामा सरकारले प्राप्त गर्ने वैदेशिक सहायता घटेको हो । सरकारले वैदैशिक सहायता परिचालनका लागि आवश्यक विकास सहायता नीति, विकास सहायता परिचालन मार्गदर्शन लगायतका नीति निर्माण गर्न सकेको छैन ।
नीतिगत व्यवस्था हुन नसक्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो ६ महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ३८.१७ प्रतिशतले कमी आएको छ । अर्थ मन्त्रालयले तयार पारेको ‘आर्थिक वर्ष २०७४,७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन’ अनुसार सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो ६ महिनामा ५८ अर्ब १३ करोड ११ लाख रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले कुल ९४ अर्ब १८ करोड २० लाख बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरको छ । अघिल्लो वर्ष यही अवधिमा सरकारले १ खर्ब ५२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको थियो।
प्रतिवेदन अनुसार यस वर्षको पहिलो ६ महिनामा प्राप्त कुल वैदेशिक सहायता प्रतिबद्धतामा ६१ अर्ब १९ करोड २० लाख (६४.९७ प्रतिशत) अनुदान र ३२ अर्ब ९९ करोड (३५.०३ प्रतिशत) बराबरको सहुलियतपूर्ण ऋण सहायता रहेको छ । अघिल्लो वर्ष यही अवधिमा ३८ अर्ब ३० करोड २७ लाख अनुदान (२५.१५ प्रतिशत) र १ खर्ब १४ अर्ब १ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता (७४.८५ प्रतिशत) को प्रतिबद्धता सरकारले प्राप्त गरेको थियो ।
गत वर्षको वैदेशिक सहायताको अनुमान भन्दा चालू आर्थिक वर्षको बजेटमा ५.७३ प्रतिशतले प्रतिबद्धतामा कमी आएको छ । चालू आर्थिक वर्षमा अनुदानबाट ७२ अर्ब १६ करोड ७६ लाख (२५.२२ प्रतिशत) र ऋणबाट २ खर्ब १४ अर्ब ३ करोड ५४ लाख रुपैयाँ (७४.७८ प्रतिशत) गरी कुल २ खर्ब ८६ अर्ब २० करोड ३० लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य लिइएको छ । यो कुल बजेटको २२.३८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा अनुदानबाट १ खर्ब ६ अर्ब ८९ करोड ६० लाख र सहुलियत ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ६० लाख गरी कुल ३ खर्ब २ अर्ब ६१ करोड २० लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया