काठमाडौं
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । स्मारकको अवलोकनपछि उनले आफू प्रधानमन्त्री हुँदा यही परिसर भित्रै स्मारक बनाउनु पर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताए ।
अध्यक्ष दाहालले भने, “मैले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएको बखत यही परिसर भित्रै संरचना बनाउन खोजे पनि विविध कारणले रोकिएको थियो, पछि हाम्रै पार्टीको नेतृत्वमा सरकार बनेको बेला यो संरचना बन्ने प्रक्रिया अगाडि बढ्यो ।” स्थिरता र विकसित नेपालको परिकल्पना गरेर रगत बगाएका शहीद तथा बेपत्ता व्यक्तिको सपना साकार भएको महशुस स्मारक मार्फत आफूले अनुभति गरेको बताउँदै उनले स्मारकलाई अझ विस्तार र सुदृढ बनाउनु पर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आएका सबै पाहुना र अन्तर्राष्ट्रिय व्यक्तित्वले नेपाल आएको बेला हेर्नै पर्ने संरचनाको रुपमा यसलाई विकास गरिनु पर्ने बताउँदै गणतन्त्रका निम्ति निकै ठूलो आन्दोलनको नेतृत्व आफूले गरेको तथा हजारौँको बलिदान र लाखौंको योगदानपछि नेपालमा गणतन्त्र आएकाले यो स्मारकको महत्व ऐतिहासिक रहेको धारणा व्यक्त गरे ।
पैतीस रोपनीमा रहेको सो स्मारक गणतन्त्र स्थापनाका लागि भएका शहीद, बेपत्ता तथा घाइतेको सम्झनामा निर्माण गरिएको हो । निर्माण कम्पनीका परियोजना निर्देशक रोशन श्रेष्ठले ४० करोड लगानीमा स्मारक तयार भएको जानकारी दिए । ०६९ मंसिर २२ गते स्मारक निर्माण सम्बन्धी ठेक्का भएको थियो । केही दिनमै स्मारकको जिम्मा सरकारलाई दिइने परियोजना निर्देशक श्रेष्ठले बताए ।
रासस





























प्रतिक्रिया