०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न माग

०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न माग

केन्द्रबिन्दु
0
Shares

वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर अभियान शुरु गरेका छन् । 

सरसफाइ वर्ष घोषणा हुनुपर्नेमा सहमति जनाउँदै पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्व मन्त्री हिसिला यमी, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गरिसक्नुभएको सफाइ अभियन्ता माला खरेलले जानकारी दिए । 

यसैगरी नायिका एवं वाग्मती सफाइ सद्भावना दूत मनिषा कोइराला, नायक राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहालले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गरेका छन् । 

आइतबारसम्म सबै पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्ति गरी १०१ भन्दा बढीको हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने खेम्स क्लिनिङका अध्यक्ष खेम शर्माले जानकारी दिनुभयो । सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाइ कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ । 

वाग्मती सफाइ महाअभियानको २५१ औँ हप्तामा आज शंखमूल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । 
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ४० भन्दा बढी संस्थाको संस्थागत सहभागिता थियो । सो अवसरमा सफाइ दूत नायिका कोइराला, अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष बस्नेत, आयोजना प्रमुख आशिष घिमिरे, पूर्व सचिव किशोर थापा लगायतको सक्रियता थियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१२ औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । रुद्रमती सफाइको २०६ औँ हप्तामा आज रातोपुल–मैतीदेवी–ज्ञानेश्वरसम्म जनचेतनामूलक जागरण अभियानसहित सफाइ गरेर एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए । 

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३१ मा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । फागुपूर्णिमाका अवसरमा आलोकनगर क्षेत्रमा भएको फोहर सफाइका क्रममा व्यवस्थापन गरिएको कार्यक्रम संयोजक प्रमिला पौडेलले जानकारी दिए । चक्रपथ सफाइको ४७ औँ हप्तामा आज महाराजगञ्जचोकबाट चप्पलकाराखाना चोकसम्मको सडक क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सडकको दायाँबायाँ भागमा लगाइएका फलामका काँडेतार र बार भत्काइयो । केही मानिसले सडक किनारमा बाली लगाउन लगाएको तारबार गत हप्ताजस्तै आज पनि डोजर लगाएर हटाइएको सफाइ अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । 

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताल लगायत संस्थाको सहभागिता थियो । चक्रपथको बाफल खण्ड सफाइको २९ औँ हप्तामा स्वयम्भू ठूलो भ¥याङ क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए । गत हप्ता सडकमा फोहर फाल्दा सचेत गराइएकाले यस हप्ता आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकोमा नफालेपछि आज तिनीहरुको तस्बीर सार्वजनिक गरिएको छ । वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५६ औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । रासस

Logo