काठमाडौं
देशले आगामी फागुन २९ पछि नयाँ राष्ट्रपति पाउँदै छ । यसका लागि के के गर्नु पर्छ त , यो प्रश्न नागरिकमा उठ्नु स्वभाविक हो । राष्ट्रपति पदका उम्मेदवारले विजयी हुन २६ हजार ३ सय ९४ मत ल्याउनु पर्नेछ । निर्वाचन आयोगले राष्ट्रपतिको चयनका लागि फागुन २९ गते चुनाव तोकेको छ । त्यसका लागि २३ गते उम्मेदवारी दिने मिती तोकिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । कानुनले संघीय संसद सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्य राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।
संघीय संसदका ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय रहन्छ । व्यक्तिगत रूपमा मतभार संघीय सांसदको बढी भए पनि कुल संख्या प्रदेशसभाका सांसदको बढी भएकाले समूहगत रूपमा प्रदेश सांसदको मतभार बढी देखिएको छ । निर्वाचित हुन बहुमत ल्याउनु पर्ने कानुनमा उल्लेख गरिएकाले राष्ट्रपति बन्न कम्तीमा २६ हजार ३ सय ९४ मत पुर्याउनु पर्नेछ । निर्वाचनमा कुनै पनि उम्मेदवारले तत्काल कायम रहेको कुल मतको बहुमत नल्याए बढी मत ल्याएका दुई जना बीच मात्रै दोस्रो पटक चुनाव हुनेछ ।
त्यस अवस्थामा पनि कसैले ५० प्रतिशत भन्दा बढी मत कटाउन नसके तेस्रो पटक फेरि मतदान हुनेछ । तेस्रो पटकको निर्वाचनमा भने कुल मतदाताको हिसाब हुनेछैन । त्यतिबेला खसेको कुल सदर मतमा बढी मत ल्याएका व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् । उपराष्ट्रपतिको हकमा पनि सोही प्रावधान लागू हुनेछ । संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको ५० प्रतिशत बढी उपस्थिति देखिएकाले गठबन्धनबाट उम्मेदवार हुने व्यक्तिले पहिलो पटकमै चुनाव जित्ने सम्भावना छ ।





























प्रतिक्रिया