काठमाडौं
देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन । बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौं बिते पनि यथार्थ भने भिन्न छ । अपर्याप्त बजेट, जटिल भौगोलिक बनोट र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ । हिल्सा–सिमिकोट सडक आयोजना कार्यालयले छारे–खार्पुनाथ सडकखण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको छ । हिल्सा सडक आयोजनाका अनुसार ४६.९० किलोमिटरका लागि टेन्डर आह्वान गरिएको हो । निर्माणका लागि सेनाको हेलिकोप्टरबाट सर्केगाँड गाउँपालिकामा स्काभेटर पुर्याइएको छ ।
यता हुम्ला सदरमुकाम सिमिकोटलाई चीनसँग जोडिन भने नौ किलोमिटर मात्रै बाँकी छ । नाम्खा गाउँपालिकाको ओखरथाल सम्म गाडी पुगेको र त्यहाँबाट सिमिकोट सम्म नौ किलोमिटर मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । नाम्खाको मुचु तुम्कोट र हिल्साको बेलिब्रिज पुल निर्माणमा समय लागेकाले ढिलाइ भएकाले उनको भनार्इ छ ।
यता राष्ट्रिय सडक सञ्जालमा जोडिन पनि सल्लीसल्लाबाट दार्मा सम्मका लागि १४ किलोमिटर सडक निर्माण भइरहेको छ । ग्रामीण पहुँच कार्यक्रमले सल्लीसल्लाबाट तीन वर्ष अघि निर्माण सुरु गरेको हो । त्यस्तै गल्फा देखि श्रीनगर सम्म १२ किलोमिटर सडक निर्माण गरी अदानचुली गाउँपालिकामा सडक पुर्याइने ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न ०५५ सालमै निर्माण कार्य सुरु भएको थियो । तर दुई दशकमा दुई सय ९० किलोमिटर सडक पनि बन्न सकेको छैन । उत्तरी हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथला सम्म ७१ किलोमिटर सडक बनेको छ । त्यस भन्दा दक्षिणमा सडक नभएकाले हुम्लावासीलाई खासै सुविधा पुगेको छैन ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया