काठमाडौँ
दोस्रोपटक प्रधानमन्त्री बनेका केपी ओलीसँग जनताका असीमित अपेक्षा छन् । यो भन्दा अगाडि प्रधानमन्त्री छोड्दै गर्दा उनले संसदमा गरेको अन्तिम भाषणमा गर्न नपाएका कामको फेहरिस्त अगाडि सारेका थिए । अघिल्लो प्रधानमन्त्री कालमा गर्न नपाएका काममा चुनावको समयमा वाम गठबन्धनले अगाडि सारेका प्रतिबद्धता पनि थपिएका छन् । यो प्रतिबद्धतासँगै स्थायी सरकारले गर्नै पर्ने विकास निर्माणका कामको भारी बोकेर ओली दोस्रोपटक प्रधानमन्त्री बनेका छन् ।
पहिलो कार्यकालमा ओलीले केरुङ देखि काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्गको अवधारणा अगाडि सारेका थिए । केही महिना पहिला नेपाल आएको चिनियाँ टोली नेपाल जोड्ने रेलको अध्ययन गरेर फर्केको छ । भारतले नाकाबन्दी लगाएको समयमा चीनसँग १० बुँदे सहमतिमा ओलीले गरेको हस्ताक्षरका धेरै काम अझै भएका छैनन् ।
०७२ को चैत ७ मा ओलीले गरेको एक साता लामो भ्रमणका क्रममा नेपालमा चिनियाँ रेल कुदाउने र चिनियाँ पेट्रोलियम नेपाल ल्याउने निर्णय गरेका छन् । चीनले नेपाललाई अन्तर्राष्ट्रिय नाका उपलब्ध गराउने लगायत विषयमा अहिले सम्म खासै प्रगति भएको छैन । सहमति अनुसार चीनले हालै ३२ हजार सोलार जेनेरेटर नेपाल सरकारलाई दिएको छ । अर्थशास्त्री पिताम्बर शर्मा नेताहरूको बोलीमा संगठित सोचको अभाव देखिएको बताउँछन् । ‘केपी ओलीले जनतालाई बढी सपना देखाउनु भएको छ’, उनले भने, ‘बोलेका काम अगाडि नबढाउने हो भने जनतामा विश्वास गुम्ने खतरा छ । सबै काम एकैपटक गर्न सकिँदैन । त्यसका लागि प्राथमिकता तोक्नु पर्छ ।’
वाम गठबन्धनले अगाडि सारका घोषणापत्रले समेत धेरै विकास निर्माणका काम एकै पटक गर्ने बताउँदै आएको छ। खानेपानी, कृषि, सडक, रेल, विमानस्थल लगायत क्षेत्रको पूर्वाधारमा एकैपटक लगानी सम्भव नभएको विज्ञको धारणा छ । अर्थशास्त्री शंकर शर्माले सरकारले अधिकार पाएको सबै क्षेत्रमा हात हाल्न नहुने बताए । उनले भने, ‘के बाट समृद्धि आउने हो भन्ने विषय पहिला प्रष्ट गर्नु पर्छ । कृषि, पर्यटन, पूर्वाधार, औद्योगिक विकास के बाट समृद्धिको यात्रा तय गर्ने हो प्रष्ट हुनु पर्छ । त्यही क्षेत्रलाई केन्द्रमा राखेर अगाडि बढ्न सके मात्र जनताको अपेक्षा पूरा हुन्छ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया