काठमाडौँ
नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओली प्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लगाएका छन् । छिमेकी देशहरुले त उनीसँग मिलेर काम गर्न आफूहरु उत्साही भएको बताएका छन् । बिहीबार प्रधानमन्त्रीमा नियुक्त उनलाई कतिपय विदेशी सञ्चारमाध्यमले नेपालका आठौँ कम्युनिष्ट प्रधानमन्त्री तथा बामपन्थी गठबन्धनबाट बहुमत प्राप्त गरी नेपालको कम्युनिष्ट सरकारको नेतृत्वमा पुगेको भनी टिप्पणी पनि गरेका छन् ।
यी औपचारिक बधाई र शुभकामनाका अतिरिक्त नेपाल र भारत बीच यसपटक नयाँ कूटनीतिक प्रयोग नै भएको केहीको टिप्पणी छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नु भन्दा महिना दिन अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई दिए । उनले प्रधानमन्त्रीको हैसियतमा भारतमा स्वागत गर्न आफू आतुर रहेको भन्दै भ्रमणको निम्तो पनि त्यति बेलै दिएका थिए। उनले फोन दुई पटक नै गरे प्रधानमन्त्री नबन्दै । पछिल्लो सम्पर्कमा पनि उनको आशय भारत भ्रमणका लागि आमन्त्रण गर्नु नै थियो ।
प्रधानमन्त्री नियुक्त भएपछि पनि मोदीले पुुनः फोन गरेर बधाई दिए र भारत भ्रमणका लागि निम्तो दिए । बिहीबार राति १० बजे टेलिफोन गरी उनले भारत सरकार नेपालका प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै उनले आगामी दिनमा नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले ओली नेतृत्वको नेपालको सरकारसँग मिलेर काम गर्ने र नेपालमा आर्थिक विकास र समृद्धिका लागि सहयोग गर्ने बताए ।
यता चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री खछ्याङले ओलीको कार्यकालमा चीन नेपाल सम्बन्धलाई अझै सुदृढ तुल्याउनुका साथै द्धिपक्षीय सहयोग र पारस्पारिक लाभका क्षेत्रहरुमा मिलेर काम गर्ने बताएका छन् । चीन सरकारको एक महत्वाकांक्षी आयोजना एक क्षेत्र एक मार्ग अन्तर्गत विभिन्न पारस्पारिक लाभका क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री खछ्याङले व्यक्त गरेको उनले पठाएको सन्देशमा छ । प्रधानमन्त्री खछ्याङले प्रधानमन्त्री ओलीलाई चीनमा स्वागतका लागि आतुर रहेको सन्देश नेपालका लागि चिनियाँ राजदूत यु होङ्मार्फत पठाएका छन् । यसरी प्रधानमन्त्री ओलीलाई नेपालका दुई छिमेकी भारत र चीनले औपचारिक भ्रमणका लागि आमन्त्रण गरिसकेका छन् । चीन सरकारले स्वागत गरेसँगै चिनियाँ विभिन्न संघसंस्था एवम् व्यक्तिले पनि उनलाई स्वागत र बधाई ज्ञापन गरेका छन् । चिनियाँ सञ्चारमाध्यमहरुले नेपालमा बामपन्थी गठबन्धनको रुपमा निर्माण भएको कम्युनिष्ट सरकार भनेर प्रचार गरेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया