काठमाडौं
नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेश चन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । प्राप्त कागजात अनुसार भारत, बिहार राज्यको दरभंगा जिल्ला स्थित दरभंगा नगरपालिका अन्तर्गत दासको नाम छ । उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट (डब्लु डब्लु डब्लु डट इसिआई डट एनआइसी डट आइएन ) मा भेटिन्छ । दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटो सहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।
‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ । भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सो भन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ ।
दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । उनको मतदाता क्रमांक १०१ छ । माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं।२ मा नाम छ । उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो । निर्वाचन आयोगले प्रदान गरेको फोटो सहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ । सिरहाको २ नं. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो ।
नागरिकबाट





























प्रतिक्रिया