काठमाडौं
जब नयाँ प्रधानमन्त्री नियुक्त हुन्छन् तब कति औं प्रधानमन्त्री भन्ने विवाद सुरु हुन्छ । बिहीबार (२०७४ फागुन ३) एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो विवादले बहसको रुप लिएको छ । कसलाई प्रधानमन्त्री मान्ने र कसलाई नमान्ने लिपिवद्ध इतिहास नहुँदा यो विवाद पटक ,पटक बल्झिने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचजना मुख्तियार (भीमसेन थापा, पण्डित रंगनाथ पौड्याल, पुष्कर शाह, रणजंग पाण्डे र फत्यजंग शाह) लाई प्रधानमन्त्री मानेपछि यो विवाद अझ बढेको छ ।
दुई सय ११ वर्षको इतिहास हेर्दा नेपालमा ३८ जना व्यक्ति ६२ औँ प्रधानमन्त्री बनेका छन् । भीमसेन थापा यताका मुख्तियारलाई प्रधानमन्त्री मान्ने र दोहोरिएकालाई पनि गन्ने हो भने केपी ओली ६२ औं प्रधानमन्त्री हुन् । यदि पाँच मुख्तियारलाई नमान्ने र दोहोरिएकालाई पटकपटक गणना गर्दा ओली ५७ औं प्रधानमन्त्री हुन्छन् । दोहोरिएकालाई गणना नगर्ने र भीमसेन थापापछिका मुख्तियारलाई पनि प्रधानमन्त्री नमान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन् ।
होइन पाँच मुख्तियारलाई प्रधानमन्त्री नमान्ने र दोहोरिएकालाई पनि नसमेट्ने हो भने ओली ३१ औं प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको संख्याबारे सामाजिक सञ्जालमा बोल्न सजिलो भए पनि इतिहासको सही अभिलेख नहुँदा प्रधानमन्त्रीको संख्या लेख्नु विवाद सिर्जना गर्नु जस्तै भएको छ । सिंहदरबारमा तस्बिर झुण्ड्याएकै आधारमा प्रधानमन्त्रीको संख्या लेख्ने हो भने पाँच पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, तीन पटक प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्ट, दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, तुलसी गिरी, मातृका कोइराला, जंगबहादुर राणा र फत्येजंग शाको सबै संख्या गन्दा ओली ६० औं प्रधानमन्त्री हुन्छन् ।
तर दोहोरिएका व्यक्तिलाई प्रधानमन्त्री नभन्ने र सरकारको आधिकारिक वेबसाइटलाई मान्ने हो भने ओली ३८ औं प्रधानमन्त्री हुन् । तर यसलाई इतिहासले स्वीकारेको छैन। सबैभन्दा पहिला १९०० सालमा माधवरसिंह थापालाई ‘प्राइम मिनिस्टर’ भनेर औपचारिक रुपमा सम्बोधन गरिएको थियो । उनलाई पहिलोपटक प्राइम मिनिस्टर भनिएकाले पहिलो प्रधानमन्त्रीका रुपमा उनकै नाम उल्लेख गर्दा अहिले प्रधानमन्त्री बनेका ओली नेपालका ३४ औं प्रधानमन्त्री हुन्छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया