अर्को महिना ओलीको ‘खड्गो’ !

अर्को महिना ओलीको ‘खड्गो’ !

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पद तथा गोपनियताको शपथ लिइरहँदा धेरै हल्ला र अड्कलबाजीहरु सुनिए । ती हल्लामा माओवादी नेताहरुले थप पुष्टि गर्ने अभिव्यक्ति दिए ।

ओलीले शपथ लिइरहँदा माओवादी नेताहरुको न्यून उपस्थिति हुनु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मुहार खुसी नहुनु र सिन्धुलीमा पुगेर दिएको अभिव्यक्तिले झन् भन्दा झन् शंका देखायो ।

माओवादीका एक नेताले चुनौतिसाथ भने, ‘ओली कमरेडलाई एक महिनाको समय दिएका छौं, पार्टी एकताबाट भाग्न खोज्नुभयो भने अर्को खड्गो त महिना दिनभित्रै आइहाल्छ नि !’

संसद नबस्दै ओली प्रधानमन्त्री भइसकेकाले अहिले सत्तारोहण सहज भए पनि माओवादीले अर्को महिना कुनै न कुनै त्रास सिर्जना गर्नेछ । जस्तै: दाहालले चितवनमा पुगेर भनेजस्तो भएन भने फड्को मार्छु भन्ने अभिव्यक्ति दिएका थिए । त्यहीँबाट आत्तिएका ओलीले एकाएक माओवादीसँगको वार्तालाई तीब्रता दिए र निकास निकाले ।

संविधानमा नै एकल बहुमत नभएका सरकारलाई सकस पार्ने धेरै छिद्रहरु छन् । धारा ७६ को (१) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्ने उल्लेख छ ।

(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने लेखिएको छ ।

(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । माओवादीले यहीँनिर ओलीलाई अप्ठ्यारो पार्ने संकेत शीतल निवासमा बिहीबार नै सुनिएको थियो ।

(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ । तर, (६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले अहिले पार्टी एकताभन्दा टाढा आफूहरुले नसोचेको बताए । ‘माथिभन्दा तल पार्टी एकता भइसकेको छ,’ उनले भने, ‘हामीले पार्टी एकतालाई बल पुर्‍याउनमात्रै मन्त्री नपठाएका हौं, त्योभन्दा बाहिरी टिप्पणी नगर्दा राम्रो हुन्छ ।’

 

Logo