विराटनगर
प्रदेश नम्बर १ मा सरकार गठनको विषयलाई लिएर वाम गठबन्धन भित्र कुरा मिल्न सकेको छैन । सरकार गठनको गृहकार्य गर्नका लागि भनेर बुधबार विराटनगरमा बसेको एमाले र माओवादी केन्द्रका नेताहरु बीचको बैठक विना निस्कर्ष टुंगिएको छ ।
बैठकमा एमाले र माओवादी केन्द्र दुबै दलले आआफ्नो अडान कायम राखेपछि सरकार गठनको विषयमा कुनै पनि निर्णय हुन सकेन । दुई दलबीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसकेको हो । चार बजे सुरु भएको बैठक एक घण्टा बसेर कुनै पनि निर्णय नगरिकन बिहीबार बस्ने गरी टुंगिएको छ । बैठक सकेर दुबै दल सरकार गठनका लागि आन्तरिक छलफल र तयारीमा भने जुटेका छन् । ९३ प्रदेश सांसद रहेको यो प्रदेशमा एमालेको ५१ र माओवादीका १५ जना सांसद छन् । यहाँ सरकार गठनका लागि एमाले एक्लैको बहुमत छ ।
बैठकमा माओवादीका तर्फबाट प्रदेश १ का संसदीय दलका नेता टंक आङबोहाङ, नेता मौसम लिम्बू थिए भने एमालेका तर्फबाट संसदीय दलका नेता एवं मुख्य मन्त्री शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, हिक्मत कार्की, जगदिश कुसियत लगायत थिए । दुवै दलका नेताले सरकार गठनको गृहकार्य स्वरुप पहिलो चरणको बैठक बसेको जानकारी दिए । तर पहिलो बैठक विना निस्कर्ष सकियो । स्रोतका अनुसार बुधबारको बैठकमा माओवादीले आफ्ना भागमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय हुुनु पर्ने माग गरेपछि बैठक धेरै बेर बस्न सकेन ।
अन्नपूर्णबाट





























प्रतिक्रिया