काठमाडौँ
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानै देखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्छन् । शिवजी उत्पत्ति हुनु भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण लगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाइई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनार्इ छ ।
व्रत मध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
आज शिवरात्रीका लागि पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।
रासस





























प्रतिक्रिया