प्रेम कुमार श्रेष्ठ
सधै अरुलाई हसाउँने हरि बस्नेत (नाम परिर्वतन) उमेरले भर्रखै १२ वर्ष पुगे । उनी राम्रो पढ्छन् मात्र होइन, गजल भन्न पनि रुचाउँछन् । भविश्यमा फिल्म निर्देशक बन्ने रहर मनभित्र उमारिसकेका उनी रमाइलो प्रकृतिका छन् ।
हरि अहिले काठमाडौँस्थित कीर्तिपुरमा बस्दै आएका छन् । उनका साथमा छन्, हरेक इच्छा र कर्म पूरा गरिदिने बुबाआमा सहित २३ जना आफू जस्तै पहिचान बोकेका साथीहरु ।
हरिको डरलाग्दो र कहालिलाग्दो परिचय भनेकै एचआइभी संक्रमित बालक हो । तर, उनलाई यस कुरामा रत्तिभर पीर छैन । उनी आफ्नै रहरहरुका उडान भर्न मस्त हुन्छन् । जन्म दिने बुबाआमाका बारेमा भन्दा धेरै कर्म दिने बुबाआमाका बारेमा जानेका छन् उनले । नजानुन् पनि कसरी, आफ्नै साइनो पर्ने मान्छेले नै एचआइभी संक्रमित भनेर हेला गर्दै गर्दा उद्दार गर्ने देवताहरु फेला परेपछि ।
त्यसैले त उनलाई चुनौती छ । देखाउनु छ । यो दुनियाँमा एचआइभी संक्रमित भएका मानिसले पनि अवसर पाए केही गर्छ भनेर । उनी भन्छन्,‘मेरो सपना नै बुबाआमाको सपना हो, त्यसैले म अवसर पाए धेरै गर्न सक्छु जस्तो लाग्छ ।’
उनी जस्तै सोनिसा वि.क. (नाम परिर्वतन) उमेरले ९ वर्ष भइन् । उनी पनि एचआइभी संक्रमित बालिका हुन् । उनी भन्छिन, ‘जन्म दिने आमाबुबाका बारेमा खासै जानकारी नभए पनि आफूलाई स्याहार्दै आउनु भएका आमाबुबाले नै म मरेको मान्छेलाई बचाउनु भयो ।’
उनी पनि हरि जस्तै कीर्तिपुरको सफल सफलता एचआइभी शिक्षा सदन स्कुलमा कक्षा ४ मा पढ्छिन् । स्कुलसँगै रहेको वेवी लाइफ होममा बस्दै आएकी छिन् । उनी मात्र होइन । उनको भाइ र दिदी पनि त्यही बस्छन् ।
भविष्यमा गायिका बन्ने सपना बुनेकी सोनिसा अहिले पनि फुर्सदको समयमा गीत गाउँछिन् । पाँच वर्षको उमेरमा नै गीत गाएर पुरस्कार जितेकी उनले भविश्यमा गीत गाएरै करोडौं स्रोताको मन जित्ने सपना संगालेकी छिन् । गीत गाउनेसँगै समाजसेवी बन्ने उनको भविश्यको मिसन बनिसकेको छ ।
उनीहरुको जस्तै पहिचान बोकेकी लक्ष्मी चन्द (नाम परिर्वतन) ले पनि सुन्दर सपना सजाएकी छिन् । उनी पनि ठूली भएपछि समाजसेवी बन्ने सपना सुनाउँछिन् ।
त्यस्तै परिवेश, वातावरण र संस्कारमा हुर्केपछि जिन्दगीमा त्यही अनुसारको सपना बोक्नु सायद नौलो पक्ष होइन । उनी भन्छिन्, ‘जसले मलाई नयाँ जन्म दिनुभयो उहाँहरुलाई नै सघाउन चाहन्छु ।’ आजभोलि आफ्नो वरपरका बस्तीमा गएर जनचेता पनि जगाउँदै आएकी छन् । उनी समाजसेवी भन्ने धोको सुनाउँदै गर्दा विभिन्न संस्थाबाट सम्मानित भएको विषय पनि सुनाउँदै थिइन् ।
अहिलेसम्म उनले ‘किट क्वीन’बाट अनुशासित भए बापत पुरस्कार पाइसकेकी छिन् । यसैगरी ‘ब्रिटिस काउन्सिल’बाट २ हजार पाउण्ड पुरस्कार पाइन् । यी पुरस्कार प्राप्त गर्नुको श्रेय उनी बुबाआमालाई नै दिन्छिन् ।
उनीहरु जस्तै त्यहाँ बस्ने २३ जनाले आआफ्नै उद्देश्य बुनेका छन् । बुबाआमा नै एचआइभी भएर मृत्यु भएपछि आफन्तको घरमा बस्दै आएका उनीहरु विगत ८ वर्षदेखि ‘वेवी लाइफ होम’मा बस्दै आएका छन् ।
नेपाली समाजदेखि शिक्षित वर्गका मानिसहरुको मस्तिष्क हल्लाइदिने एचआइभी संक्रमण भएका यी २३ जना बालबालिकालाई पढाउनेदेखि लिएर सबै व्यवस्था ‘वेवी लाइफ होम’का संस्थापक राज कुमार पुनले मिलाएका हुन् ।
काठमाडौंको एक स्कुलमा पढाउँदै आएका पुनको जीवनमा यति ठुलो परिर्वतन भने पत्रिकामा आएको समाचारले ल्याइदिएकाे हाे । उनका साथी उमा गुरुङले समाचारको बारेमा भनेपछि सुरुको समयमा एचआइभी लागेका बालबालिकालाई पढ्न कापी, कलम मात्र लिएर भेट्न गएका थिए ।
एचआइभी संक्रमित भएका बालबालिका भएको ठाउँमा पुगेपछि संक्रमित बालबालिकाको आफन्तले ‘बच्चालाई पनि संक्रमण भएकाले लगिदिनुन’ भनेको अमिलो वाक्य बोकेर उनी काठमाडौं फर्के ।
संक्रमित बालबालिकाको बारेमा बोलिएको यही अमिलो वाक्यहरुका बारेमा सोच्दै आएका पुन अन्ततः बालबालिकालाई आफैसँग ल्याउने सोचमा पुगे । आफूले सोच बनाएका सबै विषयका बारेमा साथी उमालाई पनि बताए ।
उमाले पनि पुनको सोचमा समर्थन जनाइन् । अबका दिनमा संक्रमित बालबालिकालाई बचाउने अभियानमा लाग्ने उनीहरुले कसम खाए ।
सुरुका दिनमा बच्चाहरुका लागि उमाले आफ्नो कस्मेटिक पसलबाट आएको सबै नाफा र पुनले आफूले पाउने सबै तलब बच्चाको पालन पोषणमा खर्च गरे । पुन भन्छन, ‘सुरुको समयमा हामीले बच्चाको अवस्था हेर्दा पनि आफैलाई गाह्रो हुन्थो, अहिले त स्वस्थ भएका छन् ।’
फरकफरक सपना बोकेका सबै बच्चाको इच्छा पूरा गर्न लागिरहने पुन बताउँछन् । सबैलाई सिपमुलक पढाउनु पर्छ भनेर सोचेका उनले भविष्यमा आफूले स्थापना गरेको स्कुल र संस्थाको जिम्मेवारी उनै बालबालिकालाई दिने सोच बनाएका छन् ।





























प्रतिक्रिया