काठमाडौं ।

राष्ट्रियसभाका उम्मेदवार छान्न एमाले स्थायी कमिटी बैठक बसिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको टेलिफोन एमाले वृत्तमा चर्चित छ । "/>

एमालेमा गुट अदलबदलको लहर

एमालेमा गुट अदलबदलको लहर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभाका उम्मेदवार छान्न एमाले स्थायी कमिटी बैठक बसिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको टेलिफोन एमाले वृत्तमा चर्चित छ ।

राष्ट्रिय सभामा बेदुराम भूसाल, बलराम बाँस्कोटा र माओवादीबाट रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार तय गरिसकेको जानकारी भएपनि दाहालले एमाले नेता पूर्वकानुन मन्त्री अग्नि खरेललाई उम्मेदवार बनाउन सिफारिस गरे ।

परम्परागत रुपमै एमाले अध्यक्ष केपी शर्मा ओली निकट खरेलले दाहाललाई फोन गर्न लगाएपछि ओली आक्रोसित मात्रै भएनन्, उत्तर नदिई अर्का नेता माधवकुमार नेपाललाई फोन दिए । दाहालको कुरा सुनिसकेपछि नेपालले पनि ‘अग्निजीलाई उम्मेदवार बनाऊ, बलरामजीको फिर्ता गरौं’ भन्ने प्रस्ताव राखे ।

नेपालको कुरा भूइमा खस्न नपाउँदै ओलीले अब कसैको चेन्ज हुदैन भन्दै कड्किए । आफू निकट र विभिन्न आरोप खेपेरै पटक पटक सांसद र मन्त्री बनाइएका खरेलले बाहिरी मान्छे प्रयोग गरेकोमा ओली असन्तुष्ट हुनु अस्वभाविक मात्रै होइन, संकेत अर्कै छ ।

एमालेका कतिपय नेताहरु ‘अवसरका लागि’ गुट परिवर्तन गर्न थालिसकेका छन् । अझ पार्टी एकतापछि एकीकृत पार्टीको अध्यक्ष भनिएका पुष्पकमल दाहालको घर धाउने नेताहरु पनि एमालेमा प्रसस्तै भेटिएका छन् ।

नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट चुनाव जितेका र हारेका नेताहरु ओली समूहमा पुगिसकेका छन् । उपाध्यक्षमा पराजित राजेन्द्रप्रसाद पाण्डे अहिले ओलीसँग निकट छन् ।

पाण्डे नेतृत्वमा रहेको मनमोहन शिक्षण अस्पतालका पक्षमा ओलीले लिएको अडानबाट प्रेरित भएका उनी ओलीकै जोडबलमा ३ नम्बर प्रदेशको मुख्यमन्त्री हुने रणनीतिमा छन् । मुख्यमन्त्रीका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्य र पशुपति चौलागाईं नेपाल पक्षकै रहेका कारण पाण्डेले ओलीको भरोसा मागेका छन् ।

नेपाल समूहबाट चुनाव जितेका भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई पनि गुटमा खुलेका छैनन् । रावल, आचार्य र विष्ट ओलीसँग निकट छन् । विष्ट कुनै पनि अवसरको खोजीमा नभएको भन्दै न बालकोट न कोटेश्वर कतै जाँदैनन् । तर, रावल र आचार्यको बालकोट आउजाउ बढी छ ।

कडा स्वभावका रावल अन्तरपार्टी बैठकमा ओलीको प्रतिनिधित्व गर्छन् । ओलीको निर्देशनलाई हुबहु कार्यान्वयन गर्ने नेताको रुपमा रावल परिचित छन् । तर, माओवादीसँगको एकता प्रक्रियामा भने रावललाई माइनस गरिएको छ । माओवादी नेताहरु रावल बैठकमा बसे भने भाँड्छन् भन्ने भयमा रहेकाले उनलाई जिम्मेवारी नदिइएको ओली निकट नेताको भनाइ छ ।

एमाले युवा ठाकुर गैरे पनि माधव नेपाल समूहबाट बाहिरिएका छन् । महाधिवेशनमा आफूले काँध थापेको तर तीन तहको चुनाव र राष्ट्रिय सभामा आफ्नोबारे चासो समेत नलिएको भन्दै गैरेले गुट छाडेका छन् । तर, अर्कोकुनै गुटमा नगएको उनी बताउँछन् ।

योगेश ‘आउट’, सुरेन्द्र ‘इन’

एमाले अध्यक्ष ओलीको व्यक्तित्व मन पराएका तर अलग समूहमा रहेका युवा नेता योगेश भट्टराई फेरि ओलीबाट टाढिएका छन् । योगेशको चुनावी सभामा भाषण गर्न समेत पुगेका ओलीलाई अप्रत्यक्ष रुपमा राजनीतिबाट बाहिरिन आग्रह गरेपछि दूरी बढेको हो । ताप्लेजुङ पुगेर ओलीले मन्त्री बनाइदिने वचन पनि दिएका थिए ।

योगेशले माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको अध्यक्ष बनाउन लबिइङ समेत गरेको भन्दै ओली असन्तुष्ट छन् । कुनै समय स्थायी कमिटी बैठकमा ओलीलाई कारबाही किन नगर्ने ? भन्दै फरक प्रस्ताव पेस गर्ने सुरेन्द्र पाण्डे पुनःओलीसँग नजिकिएका छन् । नेपाल समूहमा रहेका पाण्डेले अबको विचार र नेतृत्व ओलीले नै गर्ने बताएका थिए ।

 

Logo