काठमाडौं
विगत तीन महिना देखि सुरु भएको चिनीको भन्सार दर वृद्धिको चलखेल चलिरहेकै अवस्थामा बजारमा भने खुद्रा चिनीको मूल्य वृद्धि भई बिक्री सुरु भएको छ । केही चिनी उद्योग र व्यापारीको योजनामा वृद्धि गर्न लागिएको भन्सार दर वृद्धिको चौतर्फी रुपमा विरोध हुँदै आइरहेको थियो । सरकारले ३० प्रतिशत भन्सार दर वृद्धि गर्ने तयारी गरेको अवस्थामा सो लागू नहुँदै बजारमा खुद्रा चिनीको प्रतिकिलो १० रुपैयाँ बढाई बिक्री वितरण सुरु भएको छ । गत साता राजधानीमा नेपाल चिनी उद्योग संघले पत्रकार सम्मेलन गरेर भन्सार दर वृद्धि गरिँदा चिनीको खुद्रा मूल्य वृद्धि नहुने दाबी गरेको थियो तर सो पत्रकार सम्मेलन गरेको दुई दिन भित्रै होलसेल पसलमा प्रतिकिलो १० रुपैयाँ वृद्धि गरी बिक्री हुन थालेको बानेश्वरका देवेन्द्र खड्काले बताए । खुला सिमानाका कारण चोरी पैठारी रोक्नका लागि सरकारले भन्सार दरमा वृद्धि गर्नु पर्ने भन्दै अडान राख्दै आएका चिनी उद्योगीहरु नै चोरी/पैठारी गरेर ल्याएको चिनी नै नेपाली उत्पादनको नाममा बिक्री वितरण गर्दै आएको आरोप समेत लाग्दै आएको छ ।
समितिले चिनी उत्पादनका लागि खरिद गरेको उखुको परिमाण, वर्षभरि उत्पादन हुने चिनीको परिमाण, चिनीको ग्रेट मूल्य, मौज्दात रहेको चिनीको विवरण लगायत विभिन्न विषयमा केन्द्रित भएर अनुगमन र अनुसन्धान गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तथा समितिका सदस्य प्रेमलाल महर्जनले बताएका छन् । उनका अनुसार चार वटा उद्योगले प्रतिकिलो २६ दशमलव १३ प्रतिशत भन्दा बढी मूल्यवृद्धि गरेका छन् ।
रिलायन्सले आर्थिक वर्ष २०७१/०७२ मा ४९ रुपैयाँ ६० पैसा प्रतिकिलो निर्धारण गरेको मूल्य आव ०७२/०७३ मा ५४ रुपैयाँ १० पैसा र आव ०७३/०७४ मा ६५ रुपैयाँ नौ पैसा कायम गरेको छ । त्यसैगरी इन्दुशंकरले आव २०७१/०७२ मा ४६ रुपैयाँ नौ पैसा, ०७२/०७३ मा ५९ रुपैयाँ छ पैसा, ०७३/०७४ मा ५५ रुपैयाँ ५० पैसा र एभरेष्टले ०७१/०७२ मा ४५ रुपैयाँ १० पैसा, ०७२/०७३ मा ४५ रुपैयाँ ३४ पैसा र ०७३/०७४ मा ५६ रुपैयाँ २१ पैसा प्रतिकिलो खुद्रा बिक्री मूल्य निर्धारण गरेर बजार पठाएको पाइएको छ । श्रीरामले सो मूल्यसूची समेत लुकाए समितिलाई नदिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया