शुक्लाफाँटा औद्योगिक तथा व्यापार मेला आयोजन हुने

शुक्लाफाँटा औद्योगिक तथा व्यापार मेला आयोजन हुने


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला आयोजना हुने भएको छ । 

‘कृषि, पर्यटन, सांस्कृति हाम्रो शान व्यापार प्रवद्र्धन आर्थिक समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गतेदेखि २७ गतेसम्म आयोजना हुने सो मेलामा १५० वटा स्टल राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । झलारी पिपलाडी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो मेलाको उद्देश्य प्रदेश नं ७ को लोकसंस्कृति जगेर्ना गर्ने, कृषि पर्यटन प्रवद्र्धन, घरेलु तथा साना उद्योग, मझौला तथा ठूला उद्योगधन्दाको पहिचान तथा विस्तारमा सघाउ पु¥याउने, मौलिक परिकार र हस्तकलाका सामग्रीको प्रचारप्रसार गर्ने रहेको संघका अध्यक्ष हरेन्द्रकुमार भण्डारीले बताए । 

झण्डै ५० हजार भन्दा बढीले मेला अवलोकन गर्ने र रु दुई करोड भन्दाबढीको कारोबार हुने लक्ष्य निर्धारण गरिएको पनि उनले बताए । मेलामा स्थानीयस्तरका कला संस्कृति, साहित्य, लोक कला, देउडा, हुडकेली, धुमारी, ढुस्को, थारु सांस्कृतिक गीत, नृत्य, फागु, गौरा, ओल्के माघीलगायतका चाडपर्वको प्रचारप्रसारका साथै स्थानीय परिकार गतानी, डुव्का, माणा, बावर, सेलरोटी र राना थारु समुदायका मौलिक परिकारको स्वादबारे जानकारी दिइने संघका महासचिव दीपक भट्टले बताए । रासस

Logo