काठमाडौं
पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ । ०६७ सालमा माधव कुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।
देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ । नेपाल नेतृत्वको तत्कालीन सरकारले ०६७ साल असारमा १ हजार ६२६ जनालाई सहिद घोषणा गरेको थियो ।माओवादी द्वन्द्वका बेला विद्रोही पक्षबाट मारिएका स्याङजाका देवानसिंह राना, देव बहादुर खवास, विष्णु बहादुर चन्द, मीन बहादुर बानियाँ क्षत्री, नेत्र नारायण भण्डारी र रण बहादुर गुरुङ, कास्कीका कृष्ण बहादुर गुरुङ, पूर्ण बहादुर भुजेल चौधरी, पशुपति रानाभाट र चन्द्र बहादुर रानाभाट तथा सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, हिक्मत बहादुर भण्डारी र छत्र बहादुर गिरीलाई देउवा नेतृत्वको सरकारले दोहोर्याएर सहिद घोषणा गरेको हो ।
देउवा सरकारले माघ १२ मा मात्र द्वन्द्वकालमा माओवादीबाट चितवनको बाँदरमुढेमा मारिएका ३६ जना सहित स्याङजा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई सहिद घोषणा गरेको थियो । द्वन्द्वपीडित साझा चौतारीले सरकारले हचुवाका भरमा सहिद घोषणा गरेको भन्दै असन्तुष्टि जनाएको छ । चौतारीका अध्यक्ष सुमन अधिकारीले हचुवाका भरमा सहिद घोषणा गरेर राजनीति गर्न खोजिएको बताए । ‘पहिले पनि सरकारले घोषणा मात्र गरेको थियो तर कुनै पनि प्रक्रिया भने पूरा गर्न सकेको छैन ।’
नागरिकबाट





























प्रतिक्रिया