काठमाडौं
दुई वाम विद्यार्थी संगठनले वीरगन्जको छपकैयामा भारतीय पक्षबाट नयाँ पिलर राख्दा नेपालको सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गरेका छन् । सरकारले भारतीय पक्षबाट सीमा मिचिएको तथ्य प्रमाण नभेटेको बताइरहँदा एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले सीमा मिचिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
बुधबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेपालीले बर्सौं देखि हकभोग गरी आएको, नेपाली लालपुर्जा र तिरो तिरेको रसिद समेत भएको कैयौं बिघा भूमि भारतमा पर्ने गरी नयाँ सीमा स्तम्भ गाडिएको अध्ययनका क्रममा फेला परेको बताएका छन् ।
कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद सल्टिएको सरकारको भनार्इ आधारहीन र मिथ्या साबित भएकाले सीमाविवादको समग्र समाधान खोज्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् । दुवै विद्यार्थी संगठनको टोली माघ ६ गते विवादित क्षेत्र छपकैया पुगेर त्यहाँका स्थानीयसँग अन्तरक्रिया गर्ने, गाडिएका नयाँ पिलरमा संयुक्त पत्रकार सम्मेलन, सीमाविद्हरूसँग समेत अन्तरक्रिया गरेर फर्केको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया