सुर्खेत
प्रदेश ६ मा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ। गठबन्धनको भागबन्डामा प्रदेश नेतृत्व माओवादी केन्द्रले पाउने चर्चा चले पनि एमाले संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको हो।
संसदीय दलले प्रदेशसभामा एमालेको एक्लै ५० प्रतिशत अर्थात २० जना सांसद रहेको र एकल सरकार गठन गर्नसक्ने स्थिति रहेको निष्कर्ष निकालेको छ। सोमबार वीरेन्द्रनगरमा बसेको प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।
प्रदेशसभाका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले एमालेकै नेतृत्वमा सरकार गठन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। प्रदेशमा आफ्नो सहभागिताबिना सरकार गठन हुन नसक्ने भएपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्न सक्ने दाबी पार्टी केन्द्रमा पेस गरेको हो।
यो प्रदेशसभामा जम्मा ४० जना सांसद छन्। तीमध्ये एमालेसँग आधा अर्थात २० जना सांसद छन्। माओवादीसँग १३, कांग्रेससँग ६ र राप्रपाका १ जना सांसद छन्। सरकार गठन गर्न २१ सांसद चाहिन्छ। एमालेबाहेक अरु सबै दल मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन। एमालेले सरकार गठन गर्न बहुमत पुर्याउन १ जना सांसद भए पुग्छ। एमालेले राप्रपाका १ जना सांसदको समर्थन लिए एकल सरकार बनाउन सक्ने एमालेकै नेताहरू बताउँछन्। अन्नपुर्ण पोस्ट





























प्रतिक्रिया