काठमाडौं
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ । दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानता सहितको समाजवादलाई कार्यदिशा बनाउन ओली र दाहाल सहमत भएका हुन् । तर त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ ।
सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक राजनीतिक पक्षको ‘डकुमेन्टेसन’ का लागि कार्यदल बनाउनेछ । एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानु अघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो। तर एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली र दाहाल छलफलमा जुटेका हुन् ।
कार्यदिशामा सहमति जुटेको खुलासा माओवादी अध्यक्ष दाहालले शनिबार नै पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा गरेका थिए । ‘हामीले माओवाद छोडेका छैनौं, उहाँहरू (एमाले) ले पनि जनताको बहुदलीय जनवाद छोड्नु भएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरू पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं।
पार्टी नेतृत्वको सवालमा दुई अध्यक्षले निर्णय लिने भए पनि अन्य नेताको व्यवस्थापन र अन्तरिम कालका लागि पार्टीको अन्तरिम विधान तयार पार्ने विषयमा पनि आइतबार संयोजन समितिले निर्णय लिने स्रोतले जनाएको छ । शनिबारको ओली र दाहालको छलफलमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताका साझा दस्ताबेजका विषयमा कुराकानी भएको ओलीको निजी सचिवालयले जनाएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया