सामुदायिक स्वास्थ्य एकाइ स्थापनाले स्थानीय हर्षित

सामुदायिक स्वास्थ्य एकाइ स्थापनाले स्थानीय हर्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको आर्वाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । 

भौगोलिक विकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्योपचार सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको हो । आर्वाङस्थित गाउँघर क्लिनकको भवनमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको शुक्रबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्दै दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै सहज र सर्वसुलभरुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य एकाइ स्थापना गरिएको बताए । 

स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकाले एक जना अहेबको व्यवस्था गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क वितरण हुने औषधि र उपचार सहयोगी सामग्री सहयोग गरेको छ । सामुदायिक स्वास्थ्य एकाइबाट साविक मराङ गाविसको ६ र ७ वडाका १२० घरधुरीमा बसोबास गर्ने करिब ८०० जनसंख्या लाभान्वित भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । 

यसअघि आर्वाङका बासिन्दा सामान्य बिरामी पर्दा दुई घण्टाभन्दा बढी पैदल हिँडेर मराङस्थित स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइने भएपछि स्थानीय बासिन्दा खुशीले गद्गद् भएका छन् । बेनी नगरपालिका–४ तातोपानीका बासिन्दाले नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरेका छन् । 

उपल्लो तातोपानीका बासिन्दा म्याग्दी नदीको किनारमा ३२ मिटर पक्की पर्खाल निर्माण गरेका हुन् । बजारलाई नदी कटानबाट जोगाउनका लागि नौ मिटर अग्लो पर्खाल निर्माण गरिएको स्थानीय कुमार केसीले जानकारी दिए । तातोपानी युवा क्लबको निर्माणाधीन खेलमैदान क्षेत्रमा पक्की पर्खाल निर्माणका लागि रु पाँच लाख खर्च भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले दुई लाख र तातोपानी युवा क्लबले रु ८० हजार नदी नियन्त्रण योजनाका लागि सहयोग गरेको छ । 

स्थानीय बासिन्दाले रु दुई लाख २० हजार बराबरको श्रमदान गरेर पर्खाल बनाएका हुन् । कुण्ड र क्लबको पैसाले निर्माण सामग्री खरिद गरेका तातोपानीवासीले ढुंगा संकलन र पर्खाल निर्माणमा श्रमदान गरेका थियो । नदी कटानबाट उच्च जोखिममा परेका तातोपानी बजार संरक्षणका लागि बेनी नगरपालिका वडा कार्यालयको सहयोगमा थप पर्खाल निर्माणको तयारी भएको छ । खेलमैदान निर्माण योजनाअन्तर्गत पर्खाल निर्माण गर्न लागिएको केसीले बताए ।

Logo