काठमाडौं ।
नापी विभागको टोली वीरगञ्ज पुगेको छ । नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाबारे बुझ्न त्यहाँ गएको हो । सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० विगाहा जमिन भारतमा परेको खवर सार्वजनिक भएपछि टोलीले त्यसबारे बुझ्नेछ ।
प्राविधिक रुपमा नक्सांकन मिले/नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।
‘सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम रोक्न निर्देशन दिएकै हो, तथ्य क्लिएर भएपछि मात्रै काम अघि बढ्छ’ प्रजिअ सिंहले भने, ‘एकधुर जमिन पनि तलमाथि नहोस् भन्नेमा हामी सचेत छौं ।’
नेपाल—भारत सीमा सर्वेक्षण टोलीका लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् ।
‘ सीमा स्तम्भ मर्मत र निर्माणको काम हामीले यसअघि देखि नै गर्दै आएका हौं, भुषण देव राय र वलिव मियाँको १०७/१०७ वर्ग मिटर जमिन भारततर्फ पर्न गएको छ ’, उनले भने ‘ स्थानीयको दावी अनुसार आवश्यक कागजपत्र छ वा छैन हामी जाँच गर्छौ, त्यसपछि फारम भरेर तथ्यांक संकलन गरेर सर्भे डिपार्टमेन्टमा पठाउँछौं ।’
नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयको दावी छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।
वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० गते निवेदन दिएका थिए ।
वडा कार्यालयले सीमा स्तम्भ गाड्ने क्रममा नेपालको जग्गा तथा व्यक्तिगत नम्बरी जग्गामा समेत पिलर गाडिएकाले पिल्लर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रम्हदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलर निर्माण कार्य तत्काल रोक्का गरी नेपालको भूभाग छुट्याएर पिल्लर गाड्ने व्यवस्था मिलाउन भनेको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पिल्लर जडानको काम रोकिएको हो ।





























प्रतिक्रिया