खुदो पेल्दैमा फुर्सद छैन ढोडबेँसी फाँटका किसानलाई

खुदो पेल्दैमा फुर्सद छैन ढोडबेँसी फाँटका किसानलाई

केन्द्रबिन्दु
0
Shares

लेखनाथ, ३ माघ 

पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भएपनि यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याइनभ्याई छ ।

 सिँचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र तेलहन बाली लगाउँदा एक रोपनी जग्गाबाट बढीमा ६ हजारमात्र आम्दानी हुने तर उखुबाट रु ५० हजार मूल्य बराबरको खुदो उत्पादन हुने स्थानीय कृषक विष्णुमाया भुजेल बताउछन् । त्यसकारण उखु खेतीमा जोड दिएको उनको भनाइ छ । 

पानी कम परेका कारण गत वर्षको तुलनामा यस वर्ष कम उत्पादन हुने दुखेसो सुनाउँदै उनले भने, “पाँच रोपनी जग्गामा लगाएको उखुबाट लगभग ६० टिन खुदो उत्पादन हुने र बिक्रीबाट रु एक लाख ८० हजार आम्दानी हुने अनुमान गरेकी छु ।” 

उखुलाई वर्षमा तीनपटक गोडमेल गर्नुपर्ने र गोड्दा उखुको पातले पाछ्ने भएकाले शारीरिक परिश्रम बढी हुने गर्छ । युवा वर्गलाई त्यसतर्फ आकर्षण गर्न नसक्दा व्यवसाय लोप हुने अवस्थामा पुगेको रोजगारको सिलसिलामा एक दशक मलेसियामा सुरक्षागार्ड बसेर नेपाल फर्किएका स्थानीयवासी लक्ष्मण ओझा बताउछन् । 

नेपाली सेनाबाट अवकाश प्राप्त उनी दुई रोपनी जग्गामा लगाइएको उखु खेतीबाट यस वर्ष रु ८० हजारभन्दा बढी आम्दानी हुनेमा आशावादी रहेका छन् । 

खेती गर्दा वा काट्दा ज्याला नभई आलोपालो (पर्म) का आधारमा गर्ने गरिन्छ । उखुबाट उत्पादिन खुदो बिक्रीबाट रामो आम्दानी हुनाका साथै पशुका लागि घाँससमेत पोषिलो हुने अर्का कृषक रेखा धमलाको धारणा छ ।  प्राचीनकालदेखि खुदो गाउँका रुपमा परिचित ढोडबेँसी फाँटको लगभग १०० रोपनी क्षेत्रफलमा व्यावसायिक उखु खेती गरिँदै आइएको छ । 

खुदो बिक्रीबाट सिंगो गाउँमा यस वर्ष रु ३० लाखभन्दा बढी आम्दानी हुने स्थानीयवासी अगुवा कृषक लालबहादुर भुजेलले बताए ।  उनका अनुसार बारीमा लगाएपछि दुई वर्षसम्म उत्पादन लिन सकिने उखुलाई खासै मेहनत गर्नु नपर्ने, रोग किराले पनि दुःख नदिने र खरिदका लागि व्यापारी घरमै आउने हुँदा उत्पादित खुदो बिक्री हुँदैन कि चिन्ता छैन । त्यसकारण उखु खेतीले यस क्षेत्रमा परम्परादेखि नै निरन्तरता पाउँदै आएको हो । 

मौसम राम्रो भएको वर्षमा एक रोपनी जग्गामा रु ५० हजार मूल्य बराबरको १५ देखि १८ टिनसम्म खुदो उत्पादन हुने गरेको बताउँदै उनले भने, “तीस माना जाने प्रतिटिन तीन हजार तथा एक माना खुदोको रु १०० बिक्री मूल्य कायम गरिएको छ ।” 

पहिला कमलो जातको उखु लगाउँदा भालु, स्याल, बाँदर, कुकुरलगायतका जनावरले खाएर नष्ट गर्ने गरेको र त्यसपछि कडा जातको लगाउँदा उखुको लाँक्रोभित्र रातो देखिएका कारण पुराना दुवै बीउलाई विस्थापित गरी १० वर्षअघिदेखि बाँसकडा जातको उखुको बीउ लगाउन थालिएको हो । यो जातको उखुले राम्रो उत्पादन दिने गरेको भुजेल बताउछन् । 

जिल्ला कृषि विकास कार्यालयको सिफारिशमा २०७१ सालमा वीरगञ्जबाट ल्याइएको बोल्क ९४१८०, सिओ ०२३३, सिओ ९८२३१, जिओ १४१ तथा २०७३ सालमा ल्याइएको सिओ ०२३८, सिओएक्स १५२, बिओ १५०, सिओएक्स ९६२६८, सिओभी ८५ (गेमरा) हाइब्रिड जातका उखुको बीउ लगाउँदा उत्पादन बढ्नुको सट्टा बारीमै सुकेर ठूलो नोक्सान व्यहोर्नु परेको अनुभव ती कृषकले सुनाए । 

परम्परागत रुपमा गोरुको सहायताले कोलमा उखु पेल्दा तीन घण्टामा एक टिन रस उत्पादन हुने गरेको बताउँदै उनले भने, “ढोडबेँसी फाँटको तल्लो स्यालदुलो र माथिल्लो भेग पन्थेकुनोमा छुट्टाछुट्टै दुई वटा विद्युतीय आधुनिक मेसिन जडान गरेर सञ्चालनमा ल्याइएपछि घण्टामा पाँच टिन रस उत्पादन हुने गरेको छ ।” 

भारतमा निर्मित दुवै मेसिन कूल रु तीन लाखमा खरिद गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले अस्थायी मिटर र थ्री फेज लाइन जडान गरिदिएपछि सुविधा पुगेको र मिटरमा उठेको रकम मेसिन प्रयोग गरेको आधारमा दामासाहीले तिर्ने व्यवस्था मिलाइएको छ । 

प्राङ्गारिक रुपमा उत्पादित उखुबाट बनेको तातो खुदो पिउँदा शरीरमा गढेको चिसो बाहिर निस्कने र लगातार लाग्ने रुघाखोकीसमेत सन्चो हुने हुँदा मुलुकका विभिन्न स्थानबाट तातो खुदो पिउन मात्र पनि पारखीहरू रसेटोमै आउने गरेको कृषक बताउँछन् । 

विगतमा प्रत्येक घरमा हुने विवाह, व्रतबन्धलगायत शुभकार्य, पुसेपन्ध्र र माघे सङ्क्रान्तिजस्ता चाड पर्वमा बढी प्रयोग हुने खुदोको महत्वबारे जानकारी दिन नसक्दा व्यावसायिक उखु खेतीतर्फ कृषकको आकर्षण बढ्न नसकेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी बताउछन् । 

खुदोबाट अन्य विभिन्न परिकार बनाएर बजारमा ल्याउन कृषकलाई प्रेरित गर्ने सोचमा संघ रहेको छ । सर्वसाधारण जनतामा खुदो खाने बानी पार्न सकिए उखु व्यवसाय फस्टाउने उनी बताउछन् । 

पर्यटकीय नगरी पोखरामा हुने मेला र महोत्सवमा ग्रामीण क्षेत्रका कृषि उत्पादनले महत्व पाउने हो यसबाट बजारको सहज उपलब्धताका साथै कृषकको आर्थिक स्तर उकास्न पनि टेवा पुग्ने निर्विवाद छ । 

हरि बाँस्तोला/रासस

Logo