झलनाथदेखि नारदमुनीसम्मः कसको चाहना के ?

झलनाथदेखि नारदमुनीसम्मः कसको चाहना के ?

केन्द्रबिन्दु
0
Shares

वाम गठबन्धनबाट स्पष्ट बहुमत आएपछि एमाले र माओवादी केन्द्रका शीर्षदेखि कनिष्ट नेताहरुले स्तरअनुसारको चाहना प्रकट गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य विभिन्न पदका लागी आकांक्षिहरु धेरै देखिएका छन् । यद्यपी गठबन्धन भित्र कुन पद कसले पाउने भन्ने टुंगो लागेको छैन् ।

यता पार्टी एकता संयोजन समितिको बैठक भने अहिलेसम्म बस्न सकेको छैन् । एमाले नेताहरु सरकार गठन पहिले र पार्टी एकता पछि भन्ने पक्षमा छन् भने माओवादी केन्द्रका नेताहर सरकार गठन र पार्टी एकता सँगसँगै भन्ने पक्षमा छन् ।

२ नम्बर प्रदेशबाहेक ६ वटै प्रदेश र केन्द्रीय सरकारमा झण्डै दुई तिहाई मत पु-याएको गठबन्धनबाट प्रमुख पददेखि मन्त्रीसम्म कसले के चाहना राखेका छन् त ?

राष्ट्रपतिः

राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वमन्त्री लालबाबु पण्डितसम्मको चर्चा छ । भण्डारीले पुनः राष्ट्रपति हुने चाहना राखेको सार्वजनिक भइसकेको छ । तर, उनको निरन्तरताबारे दुवै पार्टीका नेताहरुले फरक फरक धारणा राखेका छन् ।

आफ्नो सक्रिय राजनीति गर्ने धेरै समय बा“की रहेको बताउँदै भण्डारीले अब एक कार्यकाल पुनः निरन्तरता दिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै प्रष्टै भनिसकेको बताइएको छ ।

भण्डारीले निरन्तरता नपाए एमाले वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, बर्दियाबाट चुनाव हारेका एमाले उपाध्यक्ष वामदेव गौतम, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वमन्त्री लालबाबु पण्डित, एमाले नेता रामप्रित पासवानसम्म दाबेदार छन् । नेम्वाङले रुचि कम देखाए पनि खनालको आकांक्षा उनीबाटै प्रकट भइसकेको छ ।

उपराष्ट्रपतिः

राष्ट्रपतिमा दाबेदार धेरै भए पनि उपराष्ट्रपति पद ओझेलमा परेको छ । उपराष्ट्रपतिमा पुनः वर्तमान उपराष्ट्रपति नै दोहोरिने सम्भावना प्रबल छ । अन्यथा, फरक लिंगको हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण माओवादी नेतृ जयपुरी घर्ती, एमाले नेता भरतमोहन अधिकारी, अमृतकुमार बोहरासम्म पनि उपराष्ट्रपतिमा थन्कने सम्भावना छ ।

प्रधानमन्त्रीः

प्रधानमन्त्रीमा स्वतः दाबेदार एमाले अध्यक्ष केपी शर्मा ओलीमात्रै छन् । गठबन्धन भत्कने सम्भावना भएको खण्डमा वा पार्टी एकता गर्दा कुनै अर्को समझदारी बनाउनुपर्ने भए दोस्रो दाबेदार छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

सभामुखः

प्रमुख पदमा भागबण्डा हुँदा सभामुख कुन दलले पाउने निश्चित भएको छैन । तर, निवर्तमान सभामुख ओनसरी घर्ती दोहोरिने सम्भावना प्रबल छ, त्यस्तो नभए पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, माओवादी नेताद्वय कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल सभामुख दाबेदार छन् ।

उपसभामुखः

उपसभामुख सम्भवतः एमाले र माओवादी केन्द्रबाट समानुपातिक सदस्य भएकाले अवसर पाउने सम्भावना छ ।

उपप्रधानमन्त्रीः

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको अवस्थामा माओवादीबाट कसले नेतृत्व गर्ने टुंगो लागेको छैन । महराले सरकारमा अवसर पाउने सम्भावना कम रहेकाले टोपबहादुर रायमाझी वा वर्षमान पुनमध्ये एकजनाले उपप्रधानमन्त्रीसहितको नेतृत्व गर्नेछन् । एमालेबाट ईश्वर पोखरेल प्रमुख दाबेदार छन् । पोखरेलले पार्टी हा“क्नुपर्ने अवस्था भए भीम रावल, विष्णु पौडेलसम्म उपप्रधानमन्त्री हुनेछन् ।

गृहमन्त्रीः एमालेबाट प्रधानमन्त्री भएको अवस्थामा माओवादीले गृहमन्त्री पाउनेछ । माओवादीबाट वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मा गृहमन्त्री दाबेदार छन् । एमालेले पाउने अवस्था भए ईश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराईलगायत आकांक्षी छन् ।

मन्त्रीः

राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् हुने भएपछि धेरैको मन्त्री हुने आकांक्षा तुहिने सम्भावना छ । तर, कतिपय अनुहारहरु यस्ता छन्, मन्त्री बन्ने सम्भावना बढी छ । जस्तै, एमाले नेताहरु योगेश भट्टराई, भानुभक्त ढकालदेखि माओवादीका अमनलाल मोदीसम्म छन् ।

कांग्रेसका शेखर कोइराला हराउने लालबाबु पण्डितदेखि प्रधानमन्त्रीपत्नी आरजु देउवा हराउने नारदमुनी राना थारुसम्म मन्त्री पदका दाबेदार छन् । रोचक कुरा के छ भने प्रधानमन्त्री भइसकेका ओली, दाहाल, खनाल, माधव नेपालबाहेक प्रत्यक्ष निर्वाचित करिवजसो सबै सांसदहरु मन्त्रीका आकांक्षी छन् ।

मुख्यमन्त्रीः

७ प्रदेशमध्ये २ बाहेक सबै प्रदेशमा सरकार बनाउने निश्चित भएको वाम गठबन्धनबाट मुख्यमन्त्रीको दौड तीब्र छ । प्रदेश १ मा एमाले नेताद्वय भीम आचार्य र शेरधन राई, ३ बाट एमालेकै अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, पशुपति चौलागाईं, सुरेश नेपाल, अरुणप्रसाद नेपालसम्म मुख्यमन्त्रीका आकांक्षी छन् ।

४ बाट एमालेकै किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ, ५ बाट एमाले नेता शंकर पोखरेल, ६ बाट एमालेका प्रकाश ज्वाला र यामलाल क“डेल, माओवादीका महेन्द्रबहादुर शाही तथा ७ बाट माओवादी केन्द्रका वीरमान चौधरी र एमालेका प्रकाश शाह मुख्य दाबेदार छन् । 

Logo