काठमाडौं,१५, पुस
सामान्यतया चिडियाखानाका जीवजन्तुहरु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ।यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ । चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ‘रात्रिचर जीव’ लक्षित ‘नाइट गाइडेड टुर’ को सेवा दिँदै आएका छन् ।
‘सबै जीवजन्तु दिउँसो मात्रै सक्रिय हुँदैनन्, राति सक्रिय हुने, खेल्ने र आहारा खाने पनि धेरै छन् ।’ –चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । कुल १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । ती मध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।
अंग्रेजी महिनाको नोभेम्बर १५ देखि जनवरी १५ तारिख सम्म (करिब २ महिना) चिडियाखानाले ‘रात्रिचर जीव’ नियाल्न सकिने समय छुट्याएको छ । प्राविधिक जनशक्तिको अभाव र सुरक्षा जस्ता कारणले रात्रिकालीन जीवजन्तु अवलोकन सुविधा तत्काल आम सर्वसाधारणका लागि भने खुला गर्न नसकिने त्यहाँका सहायक क्युरेटर गणेश कोइरालाले बताए । ‘त्यसै पनि निशाचर जीवको संख्या न्यून छ, हामी प्राविधिक पनि थोरै छौं, सुरक्षा र अन्य प्रशासनिक कारणले तत्काल सर्वसाधारणलाई यस्तो सुविधा उपलब्ध गराउन भने हामी असमर्थ छौं।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया