हेटौंडा, १४, पुस
मकवानपुरको भीमफेदी क्षेत्रीय कारागारमा कैदीबन्दी बीच झडप हुँदा ६ जना घाइते भएका छन् । जेलमा नाइके विरुद्ध आवाज उठाउँदा दुई पक्ष बीच झडप भएको हो । जेलका नाइके रमेश लामा विरुद्ध आवाज उठाउँदा झडप भएको थियो । लामा विरुद्ध आवाज उठाएको भन्दै केही कैदीबन्दी माथि कुटपिट भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।
झडपका क्रममा नाइके लामाका पक्षबाट कुटपिट हुँदा बन्दी दिव्य श्रेष्ठ, सुरेश थिङ, सुवास प्रधान, बाबु रेग्मी, मधु गिरी र आशीष राई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए । घाइते मध्ये चार जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई उपचारपछि जेल लगिएको छ ।
बिहीबार दिउँसो करिब १२ बजे झडप भएको थियो । केही समय अघिदेखि जेलका नाइके परिवर्तन गर्नुपर्ने, नाइकेलाई सार्नुपर्ने लगायत माग राख्दै कैदीबन्दीहरुले आवाज उठाउँदै आएका थिए । यही विषयलाई लिएर कुटपिट भएको एसपी खनालले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया