काठमाडौं,८,पुस
नेकपा (एमाले) स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरण सम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न हिजो उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको करिब पाँच घण्टा लामो बैठकमा सरकार गठन र राष्ट्रियसभा सम्बन्धी अध्यादेशको विषय फरकफरक भएको ठहर पनि गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, केन्द्रसँगको एकता, राष्ट्रियसभाको गठन लगायतका विषयमा छलफल गर्न निर्वाचनपछिको एमाले स्थायी कमिटीको पहिलो बैठक बसेको हो ।
बैठकले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनका लागि छिटो भन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । “राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यस सम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दल बीच भएको पूर्वसमझदारी अनुरुप बहुमतीय प्रणाली अनुसार नै हुनु पर्ने ठहर समेत बैठकले गरेको छ”– बैठकपछि एमालेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन पश्चात् लामो संक्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचन मार्फत प्रकट भएको जनआकांक्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट बैठकले व्यक्त गरेको जनाइएको छ । एमाले बैठक लम्बिएका कारण नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक हिजै बस्ने भनिए पनि बस्न सकेन तर दुवै पार्टीका शीर्ष नेता बीच निरन्तर अनौपचारिक कुराकानी जारी रहेको छ । निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने तयारी गरेका छन् ।
रासस





























प्रतिक्रिया