रोल्पा, ६ पुस
जिल्लामा बालविवाह अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न संस्थाले अभिभावकलाई शिक्षा प्रदान गरिएको छ ।
लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप अभियान सञ्चालन भएका हो ।
गरिबी तथा चेतनाको अभावका कारण हुने बालविवाहले लैंगिक हिंसासमेत बढ्दै गएको बताइएको छ । बालविवाह न्यूनीकरणमा किशोरकिशोरीका साथै उनका अभिभावकमा समेत सचेतना जरुरी रहेको भन्दै अभिभावक शिक्षासमेत प्रदान गरिएको बालविवाह न्यूनीकरण सहजकर्ता तीर्था आचार्यले बताएका छन् ।
जिल्लामा अत्यधिक बालविवाह हुने खुंग्री, कोटगाउँ र लिवाङमा परीक्षणका रुपमा किशोरी शिक्षा तथा किशोरीका अभिभावकका लागि तालीमसमेत सञ्चालन गरेका छौं, आचार्यले भने ।
प्रजनन स्वास्थ्य, किशोरावस्था तथा विवाहसम्बन्धी प्रचलित कानूनसमेत जानकारी नभएका अभिभावकलाई यस्ता विषयको जानकारीले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको आचार्यको भनाइ छ ।
बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने कुरा विगतमा आफूहरुलाई थाहा नभएका कारण बालविवाह गराएको अभिभावक कमला गुरुङले बताए । अभिभावक शिक्षासँगै बालविवाह न्यूनीकरणमा आफूहरु लागेको गुरुङको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार रोल्पामा हुने विवाहमध्ये ६५ प्रतिशत बालविवाह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि युएनएफपीएको सहयोगमा नेपाल रेडक्रश सोसाइटी, रोल्पाले कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस





























प्रतिक्रिया