–रमेश लम्साल
काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ ।
वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित भए । उनलाई नेकपा (एमाले) का कृष्णप्रसाद दाहालले पराजित गरेका थिए । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६ सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी समेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरेका थिए ।
निर्वाचन अगाडि हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्गलाई बाहिर सार्ने निर्णय गरेपनि थापालाई मतदाताले भने न्याय गरेनन् । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने जस्ता निर्णयमा संलग्न भएका उपप्रधानमन्त्री थापाको विजय यात्रामा एमाले नेता दाहालले पूर्णविराम लगाइदिए ।
यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोसँग पराजित भए । महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गरेका थिए । उनले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका थिए भने निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित भए । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गरेका थिए । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४ सय ८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमै चित्त बुझाउनु परेको थियो ।
वाम गठबन्धनका सुत्राधारसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा बाबुराम भट्टराईबाट पराजित हुनुपर्यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुपर्यो ।
वाम गठन्धनका सुत्राधारका रुपमा रहेका वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नं १ का उम्मेदवार एवं एमालेका उपाध्यक्ष गौतम ७ सय ५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए ।
यस्तै पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित भए । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४ सय ७३ मत प्राप्त गरी विजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९ सय २० मत प्राप्त गरेका थिए । विजयी तामाङले डा महतलाई तेस्रो प्रयासमा पराजित गरेका हुन् । विसं २०५१ देखि लगातार सबै चुनाव जित्दै आएका डा महतको विजय यात्रालाई हितबहादुरले ‘ब्रेक’ लगाइर्दिका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तामाङ डा महतसँग पराजित भएका थिए । डा महतलाई उदारीकरणको अगुवाका रुपमा लिइने पनि गरिन्छ ।
तेस्रो प्रयासमा विजय हासिल गरेपछि तामाङले भने, ‘नुवाकोटका जनताले परिवर्तनको महसुस गरे र वाम गठन्धनलाई विजयी गराए ।”
संयोग कस्तो परेको छ भने डा महतका भाई डा प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नु परेको छ ।
काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुपर्यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित भए । । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका अर्जुननरसिंह २६ हजार ३ सय ३५ मतमा रोकिएका थिए । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गरेका थिए ।
यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सकेनन् । पटकपटक मन्त्री बनेका डा प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित भए । ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि भैसकेका थिए । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गरेका थिए ।
पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि रहेका छन् । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १ सय ७१ मत मात्र प्राप्त गरेका थिए ।
पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि रहेका छन् । काठमाडौँ क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग जोशी पराजित र्भका हुन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री रहेका थिए ।
हालसम्म घोषित परिणाममध्ये ४१ जिल्लामा वाम गठबन्धनले एकलौटी रुपमा जित निकालेको छ । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित भउकी थिइन् ।





























प्रतिक्रिया