काठमाडौँ, २०, मंसिर
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्ध सहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । “निर्वाचन सम्पन्न गराउन आवश्यक ६४ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगेको छ, दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । सबै कर्मचारी केन्द्रमा पुगी हिजै देखि परिचयपत्र वितरण पनि शुरु भएको छ”– उनले भने ।
मतदान केन्द्रमा पुगेका अधिकृत सहितका कर्मचारीले मतदान गर्ने योजना निर्माण, वृद्ध, महिला लगायत अशक्तलाई राख्ने स्थल लगायतको व्यवस्थापनका काम पनि शुरु भएको आयोगले जनाएको छ । हरेक मतदान केन्द्रका लागि १९ हजार ९०८ जना मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाइएको छ । मतदाता शिक्षा कार्यकर्ताले हिजै देखि मतदानस्थलमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मत संकेत गर्न सिकाउन शुरु गरेका छन् । मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस पटकको निर्वाचनमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फको सक्कली मतपत्रकै नमुनालाई आयोगको वेबसाइटमा राखेर राजनीतिक दल, उम्मेदवार वा कार्यकर्तालाई सहजरुपमा उपलब्ध गराएको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते बिहीबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।
रासस





























प्रतिक्रिया