दाङ, १८, मंसिर
दाङ क्षेत्र नं २ का उम्मेदवारले प्रादेशिक राजधानी दाङलाई बनाउन र यसको समृद्धका लागि एकमत रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजु खनालले नेपाली काँग्रेस प्रादेशिक राजधानीका लागि प्रतिबद्ध रहेको बताए । उनले त्यसका लागि आफू सांसद रहँदा देखि नै भौतिक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढेको बताएका थिए ।
नेपाली काँग्रेसले प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माण, मेडिकल कलेज स्थापना, सिँचाइ, खानेपानी सेवा तथा विमानस्थल सञ्चालनका लागि पहल गरेको उनको भनाइ थियो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार कृष्णबहादुर महराले दाङ प्रादेशिक राजधानी बन्ने बताए । उनले भने “दाङ प्रादेशिक राजधानी हुन्छ घोषणा हुन मात्र बाँकी छ ।” यसका बारेमा आफूले एमाले अध्यक्ष केपी ओली , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समेत कुरा गरेको बताए ।
नेता महराले लुम्बिनी देखि रारा सम्मको सडक सञ्जाल जोडेर पर्यटन मार्फत यस क्षेत्रको विकास गर्ने उल्लेख गरे । प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार शंकर पोख्रेलले दाङलाई प्रादेशिक राजधानी बनाउन आफू लागि पर्ने बताए । दाङ सुरक्षा, हावापानी, भौगोलिक अवस्था, सरकारी जमिन प्राप्त, मानवबस्ती जस्ता पूर्वाधारले उपयुक्त रहेको उनको भनाइ थियो । उनले नेपालगन्ज कोहलपुरलाई औद्योगिक क्षेत्र र बुटवल भैरहवालाई पर्यटकीय क्षेत्र बनाउनु पर्ने विचार व्यक्त गरे ।
रासस





























प्रतिक्रिया