म्याग्दी, ९ मंसिर
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुई वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस् भनेर दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको हो । बेनी नगरपालिका स्थित बेनी सामुदायिक मावि र धौलागिरि मावि सिंगालाई अपांगमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए । “दुई वटामै आवश्यक तयारी पूरा भएको छ, सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन” पाठकले भने। उनका अनुसार अपांगता भएका व्यक्तिलाई मतदानकेन्द्र सम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी ¥याम्प निर्माण गरिएको छ ।
अपांगता भएका व्यक्तिलाई अन्य मतदाता झैं मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएकाले मताधिकार दुरुपयोग गरिने, आवत जावतमा समेत सास्ती हुने भएकाले पनि ¥याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए । “अपांगता भएका नागरिकलाई अन्य केही मतदान केन्द्रमा पनि सहजै मतदान गर्न सकिने संरचना रहेका छन्” उनले भने । जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । जिल्लाका सबै १०६ मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई ज्येष्ठ नागरिक, अपांगता भएका र बिरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ । आफन्तको सहयोगमा मतदान केन्द्र सम्म आइपुग्ने भए पनि मतदान प्रक्रियामा आफैँ मतदानस्थल सम्म पुगेर मत खसाल्ने व्यवस्था छ । अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मताधिकार सुनिश्चित गर्नका लागि जिल्लाभरका सबै मतदान केन्द्रलाई अपांगमत्री बनाइनु पर्ने माग विस्तारै पूरा हुँदै गएको बताए ।
रासस





























प्रतिक्रिया