काठमाडौँ ,२३, कात्तिक
आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले हिजो सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे ।
युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग राखे । यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको भनाइ थियो । “निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिने बारे पटक पटक जानकारी गराएका छौं,” उनले भने – “पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन । हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गर्छौं ।” यसैगरी नेपाल निजामती कर्मचारी युनियन (संघ) का कार्यवाहक अध्यक्ष जीत बहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउनका लागि आयोगलाई खबरदारी गर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बताएका थिए।
रासस





























प्रतिक्रिया