धनगढी, १९, कात्तिक
दुई वर्ष अघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेस मार्फत उम्मेदवारी दर्ता गराएका हुन्। राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रूपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अदालतले मुद्दाको अन्तिम किनारा नलागे सम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानुनी प्रवाधान भएको उनको भनाइ छ।
रेशम विरुद्ध कसैको पनि उजुरी भने परेको छैन । नेपाल बार एसोसिएसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद उपाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए । ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन,’ उनले भने। टीकापुर घटनामा संलग्न भएको भन्दै रेशम विरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । त्यही मुद्दामा २५ जना २ वर्ष देखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्ष देखि फरार छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फरार व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कानुन बमोजिम भए–नभएको मुख्य निर्वाचन अधिकृतले हेर्ने विषय भएको बताएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया