नेपालको जेलमा लागुऔषधका कारोवारी धेरै

नेपालको जेलमा लागुऔषधका कारोवारी धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १२ कात्तिक । नेपालमा अवैध लागुऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ ।

कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये ३ हजार ३ सय ८० कैदीबन्दीले लागुऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन् ।

विभागका महानिर्देशक कृष्णप्रसाद घिमिरेले १८ हजार ३ सय ३६ कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारी रहेको जानकारी दिए । ‘पछिल्लो समय अवैधरुपमा लागुऔषध कारोबार गर्ने र कारागार जीवन बिताउने कैदीबन्दीको संख्या बढ्दो छ’– उनले भने ।

यस्तै, जबर्जस्ती करणीका ३ हजार २ सय ५५, कर्तव्य ज्यानका २ हजार २ सय ४३, ज्यान मार्ने उद्योगका ५ सय २७, अपहरणका ४ सय ६३ र ठगी मुद्दाका ४ सय ४० जनाले कारागार जीवन बिताइरहेका छन् ।

सरकारले लागुऔषध, करणी, जीउ मास्ने, कारागारबाट भाग्ने, भ्रष्टाचारी, सरकारी कागजातको कीर्ते, यौन हिंसा, संगठित अपराध, संरक्षित वन्यजन्तुलगायतका २४ थरीका मुद्दामा आरोपितले तोकिएको समयसम्म कारागार जीवन बिताउनुपर्ने र त्यो भन्दा बाहेकका घटनाका मुद्दामा ६० प्रतिशतसम्म कैद मिनाह गर्न सकिने व्यवस्था गरेको छ ।

भक्तपुर, सिरहा र धनुषामा कारागार छैन । कारगार भएका जिल्लामा १ हजार १७ जना विदेशी र १ हजार २ सय ९७ महिला कैदीबन्दी रहेको विभागले जनाएको छ ।

Logo