हेटौंडा,२, कार्तिक
कहिलेकाँही सुन्दै अचम्म लाग्ने घटना बाहिर आउँछन् । मकवानपुरको पश्चिम मनहरी गाउँपालिका वडा नं ५, रुन्चेडाँडामा सुन्दै अचम्म लाग्ने घटनाले सबैको ध्यान तानेको छ । तीन दिन अघि देखि स्थानीयको घरमा आफैं आगो उत्पन्न हुने घटनाले स्थानीयलाई अचम्मित मात्र पारेको छैन, त्रास पनि फैलाएको छ । हीरालाल मुक्तान, धनबहादुर मुक्तान र नरबहादुर मुक्तानको घरमा यस्तो देखिएको हो । आगो सल्केर कपडा तथा खरका छानाहरु जल्न थालेपछि उनीहरु तनावमा छन् । ‘आफैं आगोको राँको देखिन्छ, पानी हालेर निभाउँदा आवाज नै नआइ निभ्छ’, वडाकी महिला सदस्य पम्फा रोक्काले भनिन् । यस्तो घटना भएपछि पीडितले स्थानीय जनप्रतिनिधिलाई गुहारेका थिए ।
आगोका कारण घरको छानो समेत जलेको छ भने घरमा रहेका अधिकांश कपडा जलेका छन् । ‘मानिसले लगाएका कपडा बाहेक अन्य कपडा जलेको पाइएको छ’, रोक्काले भनिन् । दिनहुँ जसो यस्तो समस्या दोहोरिए पछि मंगलबार मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती सहित टोलीले घटनास्थलको अनुगमन गरेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया