काठमाडौँ, २७, असोज
मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका तीन कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । चैत सम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हाल सम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।
केन्द्रका आठ प्रशोधन केन्द्र मध्ये हाल सम्म तीन केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी आउन सुरुङको काम डेढ किमी बाँकी भएकाले वाग्मतीको पानी लगी परीक्षण गरिएको हो । दैनिक सात करोड लिटर वाग्मतीको पानी केन्द्रमा लगेर परीक्षण भइरहेको समितिले जनाएको छ । वाग्मतीको पानी परीक्षणपछि पुरानै सञ्जालबाट उपत्यकामा वितरण भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा अर्को प्रशोधन केन्द्र निर्माणको काम पनि शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताए । यो प्रशोधन केन्द्र नेपालकै ठूलो र अत्याधुनिक भएको उनले जानकारी दिए । रासस





























प्रतिक्रिया