दशैँ मनाएर कति फर्किए राजधानी ?

दशैँ मनाएर कति फर्किए राजधानी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ २० असोज । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार ७६५, चर्तुदशी ९० हजार १०० र कोजाग्रत पूर्णीमाका दिन ८९ हजार २९० यात्रु भित्रिएका छन् । 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले गत वर्षको तुलनामा यसवर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको बताए । “दशमीदेखि पूर्णीमासम्म कम दिन कार्यालय सञ्चालन, दशँै र तिहारको बीचमा स्कुल तथा कलेज बिदा भएका कारण उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको हो,”–प्रवक्ता रञ्जितकारले भने ।

दशैँ मनाउनका लागि काठमाडौँबाट निजी तथा सार्वजनिक यातायातमा २० लाखको हाराहारीमा यात्रु बाहिरिएका थिए । यस्तै यो वर्ष काठमाडौँ उपत्यकामा दशैँको बेलामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । गतवर्ष १० जनाले ज्यान गुमाएकामा यो वर्ष चार जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । 

ज्यान गुमाउनेमा मञ्जित राउत, प्रमिला बलामी, खिलराज घिमिरे र प्रजन सैजु रहेका छन् । महाशाखाले सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ९७, बढी भाडा लिई सवारी चलाउने ५३, बढी भाडामा टिकट बेच्ने (बिचौलिया) ३४, बढी भाडा लिने ट्याक्सी ५०, रुट इजाजतबिना सवारी चलाउने २१ सवारी चालकलाई कारबाही गरेको छ । रासस

Logo