केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।
लामो तथा छोटो दूरीका सवारीसाधन गुड्ने ३२ स्थानमा ट्राफिक प्रहरीले सवारीसाधन चेकिङ तीव्र पारेको छ ।
चाडपर्वको समयमा हुनसक्ने सवरी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले उपात्यकाभरि सवारीसाधन चेकिङमा कडाइ गरेको छ ।
चाडपर्वको समयमा दुर्घटना हुने सम्भावना धेरै हुनाले त्यसलाई न्युनीकरण गर्न सवारीसाधन चेकिङमा तीव्रता दिएको ट्राफिक प्रहरी प्रमुख डिआइजी सर्वेन्द्र खनालले बताए ।
लामो दूरीका सवारी साधनहरू नागढुङ्गा, फर्पिङ्ग, जगाती, मुड्कु लगायत उपत्यकाबाट बाहिरिने सबै नाकामा सवारीसाधन चेकिङलाई ट्रफिक प्रहरीले अहिले तीव्रता दिएको छ । चाडपर्वमा व्यस्त रहने व्यापारिक केन्द्र तथा स्थानहरूमा सवारीको चाप बढ्ने हुनाले ट्राफिक व्यवस्थापन प्रभावित हुन नदिन त्यस्ता स्थानमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको खनालले बताए ।
उनले न्युरोड, असन, दरबारमार्ग, ठमेल, कालीमाटी, नयाँ बसपार्क, बौद्ध, जावलाखेल, भक्तपुरको बजार इलाकामा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको बताए ।
प्रतिक्रिया