यसकारण ह्वात्तै बढ्यो गर्मी

यसकारण ह्वात्तै बढ्यो गर्मी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१ भदौ । मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।  आकासमा बादल सक्रिय नहँुदा बिहानैदेखि टण्टलापुर घाम लागेका कारण राजधानी काठमाडौँसहित देशभरको तापक्रम वृद्धि भएको छ । 

खासगरी पूर्वी तथा मध्य तराई क्षेत्रमा दुई दिनदेखि तातो बढेका कारण सर्वसाधारणलाई कठिनाइ भएको छ । मनसुन कमजोर भएसँगै बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा आउन नसकेका कारण गर्मी बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

“वर्षा गराउने जलबास्पयुक्त हावा कमजोर रुपमा आएकाले मनसुनी गतिविधि बढ्न सकेको छैन । अहिले नेपालको मनसुन पनि केही कमजोर छ एक/दुई दिनपछि यो विस्तारै सक्रिय हुने सम्भावना छ,”–उनले भने । मौसमविद् कँडेलका अनुसार चर्को घाम लागे पनि आज अपरान्हपछि बदली भई थोरै स्थानमा वर्षात् हुनेछ, दिउँसो ताते पनि साँझपख मनसुनी गतिविधि बढ्नसक्ने र यो अवस्था अझै केही दिन जारी रहनेछ । 

यो वर्ष १२ जुन (जेठ २९ गते) बाट नेपालमा मनसुन शुरु भएको थियो । सामान्यतः सेप्टेम्बर २६ (असोज ८ गते) मनसुन सकिने भए पनि यो वर्ष केही लम्बिने सम्भावना रहेको मौसमविद्को आँकलन छ । चर्को घाम लागेकाले अधिकतम तापक्रम धेरै नबढे पनि गर्मी महसुस भएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबै भन्दा बढी विराटनगरमा ३५, भैरहवामा ३५, धनगढीमा ३३, दिपायलमा ३३ र नेपालगञ्जमा ३२ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम ओखलढुंगामा अधिकतम २३ रहेको छ । आज काठमाडाँैको अधिकतम २९ र न्यूनतम १८ डिग्रिसेल्सियस रहेको छ । रासस

Logo