बेसीसहर, भदौ, ३०
लम्जुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीका धुर्वराज पोखरेललाई विदेश गएर पैसा कामाउने ठूलो धोको थियो । राम्रो कमाइ गर्न उनले अनेकौ विकल्प खोजे । कहिले नेपाली सेनामा भर्ती हुन त कहिले जापान र कोरिया जाने प्रयास गरे । विदेश जान भाइ उपेन्द्रसँगै राहदानी बनाए । भाइ विदेश पुगे तर उनी भने राहदानी सिरानीमा थन्काएर पशुपालन व्यवसायमा लागेका छन् ।
विदेश गएर पनि पैसा नै कमाउने हो । बरु आफ्नै देशमा पसिना बगाउँछु र परिवारसँगै रमाउँछु भनेर व्यवसाय सुरु गरेँ, १५ वर्ष अघिको सम्झना सुनाउँदै पोखरेलले भने, सुरुमा ब्रोइलर कुखुरा पालेँ, अहिले गाई व्यवसाय गरेको छु । आम्दानी राम्रै भइरहेको छ । यसैमा खुसी छु । ३७ वर्षीय पोखरेल अहिले गाई स्याहार्न व्यस्त छन् । उनलाई पत्नी जानुकाले सहयोग गरेकी छिन् । सुरुको कुखुरापालनले उनलाई राम्रै आम्दानी दियो । ०६८ सालतिर ६ हजार कुखुरा एकैचोटी मरेपछि भने व्यवसाय परिवर्तन गरी गाईपालनतिर लागेको पोखरेलले बताए ।
कुखुरापालनबाट कमाएको पैसा गाईपालनमा लगानी गरेको उनले बताए । उनले पाउँदी बजार छेउको १५ रोपनी जग्गामा गाई पाल्नुको साथै ४० रोपनीमा घाँस खेती पनि गरेका छन् । यसमा प्रोटिनयुक्त सिओफोर, मोलाटा, सेटेरिया, नेपियरलगायत जातका घाँस छन्। आफ्नै आमाको नाममा खोलिएको ‘जगतमाया गाई फार्म’ मा अहिले साना ठूला गरेर ४२ गाई छन् । बिहान उठ्ने, गोबर सोहोर्ने, गाई दुहुने, घाँस काट्ने, चोकर हाल्ने गरेर पोखरेल दम्पतीको दिनचर्या बितेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया