जाजरकोट, २७, भदौ
जिल्लाको कुशे गाउँपालिका–५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको भाइरल ज्वरोका कारण मृत्यु भएको छ । जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन् । यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्साम लगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीय थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।
यसैविच त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सञ्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् । यस अघि बारेकोट गाउँपालिका–५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ । रासस





























प्रतिक्रिया